काठमाडौं, १३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (मंगलबार) बस्ने भनिएको स्थायी कमिटी बैठक एकाएक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक शीर्ष नेताहरुबीच सहमति नजुटेको भन्दै अर्को बैठकको मिति नतोकी स्थगित गरिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच छलफल र परामर्श हुन नसकेकाले बैठक स्थगित गरिएको जानकारी गराएका छन् ।

यता नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षको सहमति बिनै ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेको बताउँदै यस्तो एकल निर्णय आफूहरुले नमान्ने बताएका छन् । बैठकका लागि नेताहरु बालुवाटार आइसकेको समयमा ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेको उनको आरोप छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबारका लागि तय भएको स्थायी कमिटी बैठक एकतर्फी रुपमा स्थगित गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका नेताहरु भने बैठकमा सहभागी हुन बालुवाटार पुगिसकेका छन् ।

प्रचण्ड र मातृका यादव बालुवाटार पुग्ने क्रममा छन् । ‘हामी तीन जना बालुवाटारको बैठक कक्षमै आइपुगेका छौं, दुई जना अध्यक्षको सहमतिमा मात्र बैठक स्थगित हुनसक्छ, एक जना अध्यक्षले मात्र रोक्न खोजेर रोकिँदैन,’ पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अध्यक्ष प्रचण्डले बैठक रोकिँदैन भन्नु भएको छ ।’

श्रेष्ठसहित स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा र लिलामणि पोखरेल बालुवाटार बैठक कक्षमै पुगिसकेका छन् । लामो समयदेखिको पार्टी विवाद हल हुन नसक्दा नेकपा फुटको संघारमा पुगेको छ प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतबाटै निर्णय गर्ने निचोडमा दाहाल पक्षीय नेताहरु पुगेका बेला ओलीले बैठक नै स्थगित गरेका हुन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीकोको कार्यशैलीका कारण पार्टी र सरकार दुबै चल्न नसक्ने निष्कर्षमा रहेका दाहाल र माधव नेपालसहितका नेताहरुले सोमबार बैठक गरी अब बहुमतबाटै निर्णय लिने पक्षमा उभिएका थिए ।

पछिल्लो पटक साउन ६ गते एक हप्ताका लागि स्थगित बैठक बस्नुपूर्व सोमबार दाहाल–नेपाल खेमाका नेताहरुले अलग्गै छलफल गरेर ओली सहमतिमा नआए बहुमतले निर्णय गर्ने निचोड निकालेका थिए । सोमबार बिहान दाहाल निवास खुमलटारमा दाहाल, नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरुबीच छलफल भएको थियो ।

छलफलमा स्थायी कमिटीको बैठक स्थगित नगर्ने र गर्न खोजेमा दाहालले बैठक सञ्चालन गर्ने समझदारी बनेको थियो । अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दाहाल–नेपाल पक्षले दबाब दिइरहे पनि ओलीले भने आफूले राजीनामा दिने हो भने त्यही दिनबाट पार्टी एकता भंग हुने भन्दै परिणाम ब्यहोर्न खुल्ला चुनौति दिइरहेका छन् । नयाँ पेजबाट