काठमाडौंं, १९ साउन । मलेसियामा नेपाली सेक्युरिटी गार्डमाथि कुटपिट गर्ने व्यक्ति पनि नेपाली नै भएको खुलासा भएको छ ।

केही दिनअघि एक व्यक्तिले सेक्युरिटी गार्डकै पोशाकमा रहेका एक जना व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त भिडियोमा एक व्यक्तिले शुरुमा हात र त्यसपछि लठ्ठीले हिर्काएका छन् ।

घटनाको प्रारम्भिक अध्ययनका क्रममा पीडित व्यक्ति नेपाली भएको थाहा भए पनि घटनाको अन्य विवरण खुलेको थिएन । तर, दूतावासले घटना अध्ययन गरेपछि थप रहस्य खुलासा भएको छ । उक्त घटना गत जुलाई ७ तारिखमा बिहान १० बजे एमथ्री मलमा भएको र कुटपिट गर्ने व्यक्ति समेत नेपाली भएको क्वालालाम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

पीडित व्यक्ति नवलपरासीका इस्लाम हुसेन हुन् भने कुटपिट गर्ने कपिलवस्तुका राम गोपाल मुराउ भएको दूतावासले जनाएको छ । उनीहरु दुवै जना दूतावासको सम्पर्कमा आएका छन् । दूतावासको सम्पर्कमा आएका मुराउले हुसेनलाई कुटपिट गर्ने आफू नै भएको स्वीकार समेत गरेका छन् ।

पीडित हुसेन सोही मलका सेक्युरिटी गार्ड र कुटपिट गर्ने मुराउ सुपरभाइजरको रुपमा कार्यरत रहेको समेत खुलेको छ । मलेसियाको अध्यागमन कानूनअनुसार उनीहरु दुवै जना अवैधानिक कामदार समेत रहेको पाइएको दूतावासल जनाएको छ ।

दूतावासमा उपस्थित भएका पीडक मुराउ सोमबार नै आफैं मेलेसियन प्रहरी समक्ष उपस्थित भएका छन् । घटनाको थप अनुसन्धान क्वालालम्पूरको वाङ्सामाजुस्थित प्रहरी स्टेशनले गर्ने दूतावासले जनाएको छ ।