कोरोना संक्रमणमा प्रहरी के कसरि परिरहेका छन भन्ने बारेमा प्रष्ट पार्दै सम्माननीय प्रधानमन्त्रीज्युले अस्ति भर्खरै भन्नु भएको थियो “ प्रहरीलाई किन संक्रमण भएको छ भन्दा उनीहरू सडकमा गएका छन्, संक्रमित मान्छेसँग उनीहरू डिल गर्नु परेको छ।

अनेक काममा उनीहरू छन्। त्यस्ता कामबाट उनीहरू संक्रमित भइराखेका छन्। ड्युटीको क्रममा संक्रमित भइरखेका छन्। रेस्क्यू गर्न जाँदा संक्रमित भएर आएका छन्,” जुन अत्यन्त सहि कुरा थियो ।

अनि कोरोना संक्रमण यो तहमा फैलिनु भन्दा अगाडी सम्माननीय प्रधानमन्त्रीज्युले स्वास्थ्यकर्मीहरु सरह सुरक्षाकर्मीहरुलाइ पनि कोरोना संक्रमण रोक्न सक्रिय रहे बापत अतिरिक्त भत्ता दिने घोषणा गर्नु भएको थियो ।

दुःखका साथ भन्नु पर्छ सिमाना देखि घर गाउँसम्म , संक्रमितलाइ अस्पताल लाने देखि कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन देखि उनीहरुले बच्चा पाउनु पर्दा आवश्यक प्रसुति सेवाको ग्यारेण्टीसम्म प्रहरीले गर्नु परेको छ , लाग्छ कि कोरोना महामारी नियन्त्रणको प्रमुख जिम्मा नेपाल प्रहरीको हो ।

अनि विडम्वनापूर्ण ढंगले समाचारहरुमा पढनु पर्छ सुरक्षाकर्मीहरुले दुख त पाइरहेका छन , खटिरहेका छन , डटीरहेका छन तर उनीहरुलाइ दिने भनेको भत्ता दिइएको छैन ।

सम्माननीय प्रधानमंत्रीज्यु , दिन रात बिदा बार नभनीकन खटिएका ति कर्तव्यपरायण राष्ट्रसेवकहरुलाइ उनीहरुको हकले पाउने घोषित भत्ता दिन किन ढिलाई भएको हो भनेर सोधपुछ गरेर त्यो पाउने व्यवस्था मिलाउनु होला , उनीहरुले तपाईंलाइ सदैव आशिस दिनेछन ।