नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य पदम राई नेकपा पार्टी प्रवेश गर्ने भएका छन् । उनलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी प्रवेश गराउने भएका हुन् ।
आइतबार १० बजे पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी प्रवेश गराउने नेकपाक केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए । ‘हामीले धेरै दिनदेखि छलफल गरी रहेका थियौँ,’ श्रेष्ठले भने, ‘आज अन्तिम रुप दिई पार्टी प्रवेश टुङगो लगाएका हौँ ।’
पार्टी नीति विपरीत मिडियामा बोलेको भन्दै राईलाई पार्टीले कारवाही गरेको थियो । राई पहिलो संविधान सभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर एकबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए ।




















