काठमाडौं, २ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद सुल्झाउन गठित कार्यदलको बैठक अहिले पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको छ ।
अपरान्ह १ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा कार्यदलको बैठक जारी रहेको नेकपा स्रोतले जानकारी दिएको छ । कार्यदलले स्थायी कमिटी बैठकमा उठेका विषयहरुलाई सूत्रबद्ध गरेर विवाद समाधानको सुझाव दिने कार्यदल सदस्यहरुको भनाइ छ ।
गत बिहीबार र शुक्रबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डबीच छलफल भएपछि कार्यदल गठन भएको हो ।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा शुक्रबार गठित ६–सदस्यीय कार्यदलको शनिबारको बैठक भने राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको भैसेपाटीस्थित घरमा बसेको थियो ।
कार्यदलमा स्थायी समिति सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् ।


