काठमाडौँ, ३ भदौ । दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको कविवर घिमिरेको बुधबार(आज) राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।

उनको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गरे ।

यसअघि उनको निवास लैनचौर, अलकापुरी पुगी दिवङ्गत घिमिरेप्रति उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेता अर्जुननरसिंह केसी, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतले श्रद्धाञ्जलि व्यक्त गरेको थियो ।

घिमिरेलाई श्रद्धाञ्जली व्यक्त गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत पनि पुगेका थिए ।

राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो ।

पार्थिव शरीरमा उपप्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा आज उनको निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जली व्यक्त गरेका छन ।

नेपाली सेनाका मानार्थ सहायक रथी घिमिरेको सम्मानमा सेनाका अधिकृत नेतृत्वको टुकडीले सम्मान गारत अर्पण गरेको थियो । आर्यघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, उच्च सैनिक अधिकृत, साहित्यकार, कलाकारलगायतले पनि राष्ट्रकविप्रति श्रद्धाञ्जलि अर्पण गरेको थियो ।

राष्ट्र कविको यो अन्तिम गीत : जुन गीत आफ्नो मृत्युपछि मात्रै बजाउन भनेका थिए