काठमाडौं, ८ भदौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज हुने भनेको भेटवार्ता स्थगित भएको छ ।
दुई नेताबीच कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्न ११ बजे समय तय भएको थियो । तर, अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली अन्य कार्यक्रममा व्यस्त भएका कारण दुई अध्यक्षबीचको भेट अनिश्चित भएको हो ।
शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यान्वयनबारे दुई अध्यक्षबीच छलफल हुन लागेको हो । नेकपाको आन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले भदौ ६ गते समाधानको सूत्रसहतिको १७ पेज लामो प्रतिवेदन बुझाएको थियो ।
सोमबार विहान भेट तय भए पनि अहिलेसम्म प्रधानमन्त्री ओलीबाट कुनै खबर नआएको प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ ।
‘हामी तयारी अवस्थामा छौं, प्रधानमन्त्रीको खबर आएको छैन’, खुमलटार स्रोत भन्छ, ‘उहाँ (प्रधानमन्त्री) व्यस्त भएको भन्ने खबर छ, उताबाट खबर आएपछि जाने हाम्रो योजना छ ।’


