काठमाडौं, १९ जेठ । तनहुँका तत्कालीन जिल्ला न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

न्याय परिषदले उपाध्यायविरूद्ध नक्कली प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । न्यायपरिषदको छानबिन नक्कली शैक्षिक प्रमाणपत्र भएको भन्दै कार्बाही सिफारिस गरेपछि जिल्ला न्यायाधीशबाट उपाध्यायले दुई हप्ताअघि राजीनामा दिएका थिए ।

उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सजाय र जरिवाना हुनुपर्ने परिषदले दावी गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर सरकारी वा सार्वजनिक पदमा काम गरेको प्रमाणित भए १० देखि २० हजारसम्म जरिवाना र ६ महिनादेखि एक वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

भारतको कानपुर विश्वविद्यालय (हाल छत्रपति साहुजी महाराज विश्वविद्यालय) बाट स्नातक तहको शैक्षिक प्रमाणपत्रका रूपमा प्रोभिजनल सर्टिफिकेट मात्र बुझाएको न्याय परिषदले जनाएको थियो । जबकी स्थायी शैक्षिक प्रमाणपत्र मात्र बुझाउनु पर्ने हुन्छ ।

परिषदले छानविन गर्दा उनले उक्त स्थायी शैक्षिक प्रमाणपत्र पेश नगरेको गर्न पनि नसकेको भेटिएको थियो । एक साताअघि परिषद बैठकले उनीविरूद्ध विशेषमा मुद्दा हाल्ने निर्णय गरेको थियो ।