एजेन्सी । रुसले हावामा कोरोना भाइरस छ कि छैन पत्ता लगाउने डिभाइस बनाएको दाबी गरेको छ । यो डिभाइसले कोरोना भाइरस पत्ता मात्र लगाउने नभइ हावामा भएको विषालु पदार्थ र कतिपय खतरानाक भाइरस भए नभएको समेत सूचना दिन्छ ।

यो डिभाइस रुसको केएमजे फ्याक्ट्रीले रक्षा मन्त्रालय र कोरोना भ्याक्सिन बनाउने गामालेया इस्टिट्यूटको सहकार्यमा तयार गरिएको हो । यो डिभाइसको नाम डिटेक्टर बायो रहेको छ । शुक्रवार मस्को नजिकै आयोजित सैन्य औद्योगिक सम्मेलनमा ‘आर्मी २०२०’ को सन्दर्भमा डिटेक्टर बायो मेसिनको प्रदर्शन गरिएको थियो । रुसको केएमजे फ्याक्ट्री संसारभर प्रसिद्ध जेनिथ क्यामेरा निर्माणका लागि प्रख्यात कम्पनी हो ।

डिटेक्टर वायो कुनै पकेट डिभाइस होइन । यो रेफ्रिजरेटर जस्तो हुन्छ । बाहिरबाट हेर्दा स–सानो प्रयोगशाला मै हो । यसले हावालाई भित्र तानेर त्यसको परीक्षण गर्छ । यो एक प्रकारको मिनी प्रयोगशालाहरुको श्रृंखलामा कोरोना भाइरसको स्थितिको बारेमा पत्ता लगाउनमा सक्षम रहेको बताइएको छ । यसले भरपर्दाे परीक्षणका लागि आफू वरिपरिको हावाको दुई पटकसम्म जाँच गर्दछ ।

पहिलो चरणमा यो केवल १० देखि १५ सेकेण्ड मा नै हावामा रहेको भाइरस, ब्याक्टेरिया वा अन्य विषालु पदार्थ भेट्ने बित्तिकै संकेत दिन्छ । यतिबेला यसले कोरोना जस्ता खतरनाक भाइरसको बारेमा कुनै संकेत दिँदैन । यसका लागि यस मेसिनले हावाको विस्तृत परीक्षण गर्दछ । त्यसका लागि डेढदेखि दुई घण्टाको समय लाग्छ । यसका विकासकर्ताले यस मेसिनलाई एयरपोर्ट, मेट्रो वा रेल्वे स्टेशन जस्ता सार्वजनिक स्थलहरुमा राख्नका लागि बनाइएको बताएका छन् ।