कमरेड अध्यक्षद्वय 
   लाल सलाम ! 

सर्वप्रथम दुई दशकदेखी बामपंथी आन्दोलनमा सहभागी/आवद्ध हुदै यहाँहरुले नेतृत्व गरेको नेकपाको लेवीदाताको रुपमा रहिआएको जानकारीको लागी अनुरोध छ। परिवर्तनको लागी बिभिन्न कालखण्डमा बिभिन्न आन्दोलनको नेतृत्व गरेको पार्टीले बनाउन लागेको,कार्यकर्तालाई बोल्न / लेख्न समेत प्रतिबन्ध लगाउने नितीको ठाडो बिरोध गर्दछु। कम्युनिष्ट पार्टीमा संभवत सबै कार्यकर्ता बराबर हो भन्ने मान्यता राखिन्छ, तर तपाईहरु आफु डिआईजी हामी कार्यकर्ता जवान भन्ने फौजी सोच राख्नुहुन्छ। यद्यपि आफ्ना नेता गलत बाटोमा लाग्दा सचेत गराउनु आम कार्यकर्ताको धर्म हो भन्ने मेरो भनाई हो।

IMG_20200911_131057
भिष्म पौडेल ---------------------


२० बर्ष अघिका बुटवलका सुकुम्बासी बालुवाटारको जग्गाधनी बन्दा पनि हामीले ठिकै भन्नुपर्थ्यो कि??या हामीले के गर्नुपर्थ्यो???
गोकुल बाँस्कोटालाई मन्त्री बनाउनु पर्थ्यो? लडाकुको पैसा कुम्ल्याउदा चुप बस्नु पर्थ्यो?? महाकाली सन्धी राम्रो हो भन्नुपर्थ्यो?? देवी ज्ञवालीलाई हराउदा रेणु दाहाल जिन्दावाद भन्नुपर्थ्यो? निर्मला पन्तको हत्यारा नखोज्नु पर्थ्यो?? भ्रस्टाचार गर्न पाउनुपर्छ भन्नुपर्थ्यो? सबै हत्यारालाई रन्जन कोइरालालाई जस्तै छोड भन्नुपर्थ्यो?? जनता घरमै थुनेर आफु सरकारी सुबिधा दोहन गर्दा पनि ठिकै भन्नुपर्थ्यो?? परिवारवाद लाई पनि कम्युनिस्ट सिद्धान्त मान्नु पर्थ्यो??समाबेशी सिद्धान्तको धज्जी उडाउदै महिलाबिहिन सचिवालयलाई पनि मान्नै पर्थ्यो? सत्ता र शक्तीको लागी तपाईहरुले संसद र पार्टीमा गरेको रत्यौलीमा पनि साथ दिन पर्थ्यो??
कमरेडहरु अहिलेका युगका हामी कार्यकर्तालाई यहाँहरुले गर्नुभएको मोटामोटी गद्दारीको फेहरिस्त अवगत नै छ। ०२८ मा ओली कमरेडहरुले सामन्ती भनेर टाउको काटेका झापाका धर्म ढकाललगायतका सन्तानहरुले उबेलाका खालीखुट्टे अहिले मंहङ्गा साधनमा बालकोट दरवार छिरेको देखेर प्रश्न गरे भने के गर्नुहुन्छ??


सशस्त्र द्वन्द्वमा मारिएका गोर्खा फुजेलका कृष्ण अधिकारीको बाउ नन्दलाललाई अनसनमै मर्ने बाध्यता बनाउने तपाई कमरेड पुष्पकमल दाहाल आफ्नी छोरीलाई कुन बाटोबाट मेयर बनाउनुभयो ??आखिर सन्तानको माया कस्तो लाग्दो रहेछ अधिकारी दम्पतीको त्यो माया कसले बुझ्यो?लाज लाग्नुपर्ने होइन?? कृषकले मल पाएनन, त्यसवापत डेरा मात्र सरेर हुन्छ र??


जहिलेसम्म आसेपासे र आफन्तलाई मात्र जनता र कार्यकर्ता मानिने संस्कार रहन्छ त्यो दिनसम्म सबैको बिरोध बिनाप्रभाव गरिन्छ भन्ने जानकारी गराउदछु।अहिले ओली कमरेडलाई सत्ताको नेतृत्व अनि प्रचण्ड कमरेडलाई पार्टीको नेतृत्व,दुबैलाई छुचुन्द्रोको टाउकोमा चमेलीको तेल जस्तो मात्र भएको छ। यसमा हामी कार्यकर्ता दुखित छौ।


त्यसैले एउटा कम्युनिस्ट पार्टीमा आफ्नो लाचारीपन र खुरापातको पर्दाफास हुन्छ भनेर नेतृत्वको स्वस्थ आलोचना गर्दा कार्वाही हुन्छ भने त्यसको शुरूवात मै बाट गर्नुहुन सादर अनुरोध गर्दछु। त्यसप्रकारको कार्वाही भोग्न तयारी अवस्थामा रहेको जानकारी पनि गर्दछु। पूरा कार्यकालभरी गुट जोगाउन र आफन्त भर्ती गर्न जसरी लाग्नुभएको छ त्यसरी नै पार्टी र देस बनाउन लाग्ने बुद्धि आज बेलुकैबाट घुरोस भन्ने शुभकामना पनि दिन चाहान्छु।


वार्ड सदस्य हारेकालाई माननिय बनाउने, मेयर हारेकालाई प्रदेस प्रमुख बनाउने उनकै छोरोलाई सोहि प्रदेस अन्तर्गतको स्वास्थ्य बिज्ञान प्रतिस्ठानको रजिस्टार बनाउने, महिलामन्त्री पुरुष बनाउने, राज्यका स्वतन्त्र निकायमा राजनीतिक हैकमवाद लाद्ने, पार्टीको सर्वोच्च निकाय सचिवालयमा समाबेशीताको खिल्ली उडाउदै महिलाबिहिन,ब्राह्मणमैत्री बनाउने, लगायतका धेरै कमजोरी यहाँहरुबाट भएको छ जसलाई सुधार्न त के? सोच्न सम्म फुर्सद छैन पैसाको लागी? शक्तीको लागी ?या के को लागी हो??
कोरियामा किमको र चिनमा पिङ्को बिरोध किन हुदैन?कमरेडहरुलाई अवगत नै होला??जहाँ साशक सेवक हुन्छ त्यहा नेताप्रती जनताको प्रेम धेरै हुन्छ।तपाईहरु जनताको लागी के बन्नुभो???भन्न सक्नुहुन्छ??किन जनताको नजरमा दिनप्रतिदिन घृणित हुदै हुनुहुन्छ??


अन्त्यमा जनता र कार्यकर्तालाई बिभिन्न अंकुश लगाउने दुस्साहस गर्नुभन्दा जनमैत्री काम गरेर हाम्रो मन जित्नुहोला बिरोध होइन फुलको माला लगाउन पनि आउने छु। ऐतिहासिक झापा बिद्रोह र सशस्त्र द्वन्दको सम्मान गर्नुहोला,
कार्यकर्ता र जनताको मन अवश्य जित्नु नै हुनेछ। नेपाली कम्युनिस्ट भन्दा गर्वले छाती फुल्ने खालको अनि हामीले सचेत गराइरहन आवस्यक नपर्ने गरी काम गर्नुहोला या त नेतृत्व पुस्तान्तरण गर्नुहोला...............
क्रान्तीकारी अभिवादन सहित २०७७/५/२६
     

                 उहि

    ---------------------------
       भिष्मराज पौडेल

    संगठित सदस्य, झापा