___________________________________    लेखक : मिराजजंग थापा 

देशको एक प्रमुख र पुरानो राजनैतिक दल महाधिवेशन उन्मुख छ। औ महाधिवेशनका लागि रस्साकस्सी शुरु भइसकेको छ। सभापति लगायतका अन्य पदाधिकारीका आकांक्षीहरु गृहकार्यमा जुटिसकेको अवस्थामा छन। समर्थन लिने र समर्थन बनाउने कार्य शुरु भइसकेको छ। पुराना समिकरणहरु भत्किने, नया जोडिने, थपिने, घट्ने जस्ता सधै जसो चल्ने घटनाक्रमहरुको शिलशिला सतह मै देखिन थालेको छ।

केन्द्र देखि स्थानिय तह सम्म सरगर्मी बढ्दै छ। सत्ता बाहिर हुदाको सुषुप्तता महाधिवेशनको आगमन संगै काङग्रेसबृतमा सकृयतामा बदलिएको देखिन्छ। पार्टी भित्रको आन्तरिक सत्ता कायम गर्न नेताहरु बिचमा दौड शुरु भएको छ। अहिले सम्म स्पष्ट कित्ता काट भइनसके पनि केहि पुर्वानुमान गर्न सकिने घटनाक्रमहरु बनिसकेका छन्। पार्टीमा सर्वोच्चताका लागि आकांक्षीहरु खुल्ने क्रममा छन्। आ-आफ्ना समुहगत छलफल र बैठकहरु बाक्लिदै गर्दा कांग्रेसले आगामी महाधिवेशनबाट कस्तो नेतृत्व पाउने वा यो अवस्थामा काङ्ग्रेसलाइ कस्तो नेतृत्व अावस्यक छ भन्ने प्रश्न महत्वपूर्ण हुन्छ। काङ्ग्रेसको पुनर्गठन र पुनः उथ्थानको सवालमा यस महाधिवेशन प्रस्थानबिन्दु हुनसक्छ।


देशकै पुरानो पार्टी, बिभिन्न राजनैतिक परिवर्तनहरुमा नेतृत्वदायी भुमिका खेलेको हैसियतले यस पार्टी भित्रका परिघटनाहरुलाइ धेरैले चासोको रुपमा लिनु स्वभाविक हो।देशमा राजनैतिक र ब्यबस्थापकिय परिवर्तन आइसकेको अवस्थामा अब राजनीतिक पार्टी भित्रको नेतृत्व देशलाइ विकास र सुशासनतिर केन्द्रीत गराउने होस भन्ने आम जनताको स्वभाविक चाहना हुन्छ। नेपाली कांग्रेसको लामो इतिहासलाइ हेर्दा यस्ले थुप्रै परिवर्तनहरुलाइ आत्मसाथ तथा अगुवाइ गरे पनि पार्टी चाहि केहि लिगेसीको भरमा चलिरह्यो।ति लिगेसी बोकेर नेतृत्वमा आउनेहरुले कहिले पनि पार्टीलाइ वैचारिक र सांगठनिकरुप दिन सकेनन्।

काङ्ग्रेस भित्र वैचारिक र सांगठनिकरुपमा कुशल व्यक्तिहरु कहिले नेतृत्वमा पुगेनन्।बि पि कोइराला नै पहिलो र अन्तिम हुन पुगे जो वैचारिक र सांगठनिकरुपले सबल थिए अनि नेतृत्व पनि लिए।त्यसपछिको नेतृत्व लगातार रुपले पारिवारिक वा व्यवहारवादी लिगेसी बोकेर आयो जस्ले कहिले पनि पार्टीलाइ वैचारिक दिशा दिन सकेन। साच्चिकै भन्ने हो भने बि पि पछि काङ्ग्रेसको खासै कुनै नविन र मौलिक विचारधारा नै छैन। अझै पनि खास गरि नेतृत्व कांग्रेससँग बि पि लाइ अघि सार्नु बाहेक अरु कुनै मौलिक वैचारिक कार्यदिशा नै छैन।जस्ले पार्टी भित्र वैचारिक हस्तक्षेप गर्न सक्छन ति सधै बाहिर पारिए।प्रखर, चिन्तनवादिहरु कहिले नेतृत्वमा पुगेनन्। कतिपयले प्रयास गरे, सकेनन्।वर्षौ सम्मको यस्तो अभ्यासले काङ्ग्रेसको केन्द्र देखि कार्यकर्ता तहसम्म गम्भीर वैचारिक संकट छ। नेतृत्वको तेहि लिगेसी कार्यकर्ता तहसम्म स्थापित भएको छ।यहि कारणले कार्यकर्ता प्रशिक्षण र परिचालनमा असमञ्जस्यता देखिन्छ।यी सबै हुदा हुदै पनि महत्वपूर्ण समयमा परिवर्तनका लागि उठाइएका धर्म निरपेक्षता, गणतन्त्र जस्ता मुद्दाहरु नेतृत्वले स्विकार गरेको थियो। यी मुद्दाहरु काङ्ग्रेसको नेतृत्व बाहिर बाट उठेका हुन।


आसन्न महाधिवेशनमा पनि पछिल्लो पुस्ता तेहि परिवार र व्यवहारवादी लिगेसी बोकेर नेतृत्वमा आउन चाहन्छन्।खासै केहि एजेण्डा, बिचार छैन। कुनै ठोस कार्यदिशा र रोडम्याप छैन। तै पनि बर्षौ देखी कार्यकर्ता सम्म स्थापित गरेको लिगेसीको बलमा नेतृत्वमा आउन चाहन्छ।ती प्राय सबै बार बार नेतृत्वतहमा पुगेका छन र करिब करिब असफल नै देखिएका छन्। अर्को तर्फ यो महाधिवेशनलाइ कतिपयले काङ्ग्रेसको पुनर्गठन को रुपमा पनि चित्रण गरिरहेको अवस्थामा त्यही नेतृत्व वा त्यस कै इर्द गिर्दका अनुहार आउनु भनेको पुर्नउथ्थानलाइ पछाडि धकेल्नु हुन्छ।युवा नेतृत्वको आवाज उठिरहेको अवस्थामा सम्पुर्ण काङ्ग्रेसजनले यो महाधिवेशनलाइ अवसरको रुपमा लिनुपर्छ।केहि आसलाग्दा देखिएका तेस्रो पुस्ताका काङ्ग्रेसी नेताहरु जस्ले केहि हद सम्मको राजकीय र दलिय अनुभव पनि प्राप्त गरिसकेको अवस्थामा अघि बढेर नेतृत्व दावी गर्नु पर्ने देखिन्छ। समिकरणका बिभिन्न अफरहरु पर्खिने होइन अब अफर दिने हैसियतमा आउनु पर्छ।

युवा नेताका ट्याग जो अब धेरै दिनलाई छैन। पचास काटिसकेका नेताहरुलाइ सधै युवाको पगरि गुथाएर सम्मान हैन उपहास हुन्छ। लोभलाग्दो सक्रियता, प्रखर र मुखर ब्यक्तित्व, पछिल्लो पुस्ता सम्मको पहुँच, तार्किक क्षमता हुदा हुदै पनि नेतृत्व लिने अग्रसरतामा अझै पनि पछि नै रहने हो भने यो पुस्ता नै स्किप हुनसक्छ। प्रदिप गिरी, भिम ब तामाङ, शैलजा आचार्य आदि झै पार्टीको देखाउने दाँत मात्र हुनुको कुनै तुक छैन। सफलता प्राप्त गर्नु फलामको चिउरा चपाउनु भन्दा गार्हो छ। किनकी काङ्ग्रेस पार्टी दसकौ देखि तेहि लिगेसीमा जकडिएको छ जुन गिरिजाप्रसाद देखि शेरबहादुर सम्मले बसाए।तर्क र विचारलाई नेतृत्वले खासै महत्व दिदैन अनि आफु त्यो क्षमता र इच्छा राख्दैन।तर पनि कम्तिमा पार्टी भित्रको यो जमातले जोडदार प्रयासको शुरुवात गर्न सक्छ।नरहरि आचार्य लगायतले जुन जग बसाल्ने प्रयत्न गरे अत्यन्त सहासका साथ,यद्यपि शारीरिक अस्वस्थ्यताले उनले सम्पुर्ण र लगातारको प्रयास गर्न पाएनन,त्यसको निरन्तरता जरुरी छ। नरहरि आचार्यले शुरुवात गर्दाको समय र परिस्थिति भन्दा अहिले फरक र सहज अवस्था छ। सम्पर्क र पहुँच पनि बढेको छ। आशातित सफलता हासिल नभए पनि कार्यकर्ताले परिवर्तनका अगुवाहरुलाइ चिन्नेछन्।विचार र दृष्टिकोण पाउनेछन्।


राष्ट्रियता, समाजवाद, लोकतन्त्र तिन मुल मन्त्र लिएको काङ्ग्रेसको अहिलेसम्मको नेतृत्वले यी तिन नारा कहिले पनि पुराना नहुने सोचेको देखिन्छ। निश्चय पनि यी सदाबहार हुन।तर समयक्रम संगै यीनको समय अनुकुल ब्याख्या हुन्छ। जसरि प्रजातन्त्रको ठाउँमा लोकतन्त्र आयो, भलै यी दुईमा त्यति ठुलो तात्विक फरक छैन, घटनाक्रमहरु ले यीनको परिभाषालाइ फरक बनाउन सक्छ। समयक्रम सँगै आउने परिवर्तनका धारहरु लाइ समातेर नया तार्किक निष्कर्ष र दर्शन दिन सक्ने, यी नाराहरुलाइ बदलिदो परिस्थिति सँगै पुर्नपरिभाषित र पुनस्थापित गर्न सक्ने नेतृत्वको खाँचो साच्चै भन्ने हो भने बि पी पछि देखि नै काङ्ग्रेसलाइ खाँचो छ।हालको संविधानको स्वामित्व काङ्ग्रेसले लिन सकेको छैन। धर्म निरपेक्षता र संघीयता हाम्रो एजेण्डा थिएन भनेर काङ्ग्रेस भित्रै स्वरहरु सुनिन्छ।फेरि हाम्रो नेतृत्वमा संविधान बन्यो पनि भन्ने।यी सम्पूर्ण बिरोधाभाषहरुलाइ चिर्दै आफ्ना एजेण्डा जनता सम्म पुर्याउन र बुझाउन सक्ने नेतृत्व आजको आबस्यकता हो यस्लाइ क्रियाशील कार्यकर्ताहरुले बुझ्नु पर्छ। पार्टीको संसदीय दल र केन्द्रीय समिति, पदाधिकारी धेरै फरक कुरा हुन।

संसदीय दलमा आमनिर्वाचन मार्फत कार्यकर्ता, शुवेच्छुक, आमजनताको मतबाट चुनिएर आउने सदस्य जस्ले बृहत्तर राष्ट्रिय स्वार्थको लागि पार्टी निर्देशन अनुरुप काम गर्छ।पार्टीका एजेण्डा, नारा, सिद्धान्त तय गर्ने केन्द्रीय समिति र पदाधिकारी जुन नितान्त पार्टी कार्यकर्ताबाट चुनिएर आउछन जस्ले पुर्णरुपमा पार्टी र यस्का स्वार्थहरुको प्रतिनिधित्व गर्छन। तार्किक बिष्लेषण, बिमर्श र मंथनबाट पार्टी को अवधारणा, एजेण्डा, सिद्धान्त र नारा तय गर्छन र पार्टीलाइ गतिशिल बनाइरहन्छन। त्यसैले पार्टीको महाधिवेशन र त्यसपछि चुनिएर आएको नेतृत्व र पदाधिकारी महत्वपूर्ण रहन्छन्। त्यसैले काङ्ग्रेस कार्यकर्ता ले यसलाइ एउटा अवसरको रुपमा लिइ सबै पुराना मान्यता र लिगेसी बाट माथि उठेर सहि नेतृत्वकर्ताहरुलाइ झक्झक्याउनु पर्दछ, चुन्नु पर्छ र पार्टी पुनः संरचनाको दिशामा पहलकदमी लिनुपर्ने हुन्छ। अन्ततोगत्वा पार्टीका क्रियाशील कार्यकर्ता नै यस प्रक्रियाका निर्णायक हिस्सा हुन।