काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएको छ ।

अन्तरपार्टी निर्देशन-५ जारी गर्दै नेकपाले कोरोना नियन्त्रणमा सरकारलाई विभिन्न सुझाव दिएको हो । औषधि पत्ता नलागेको अवस्थामा कोरोनासँग लड्दै जनजीवनलाई गतिशिल बनाउन आवश्यक रहेको नेकपाको ठहर छ ।

संक्रमणको जोखिम बढ्दै गएकोले सोही अनुसार बजेट, स्वास्थ्य सामग्री, जनशक्ति र भौतिक सामग्रीको व्यवस्था गर्न नेकपाले सरकारलाई सुझाव दिएको छ । कोरोना परीक्षणको दायरा बढाउन, समुदायमा संक्रमण फैलिएको आशंका गरिएको ठाउँमा नमुना संकलनलाई तीब्र बनाइ बिरामीको उपचारका लागि पूर्वतयारी अवस्थामा रहन पनि नेकपाले सुझाव दिएको छ ।

आवश्यकता अनुसार जिल्ला र इलाकास्तरमा समेत लकडाउन गर्न, अस्पतालको शय्या, सघन उपचार कक्ष र भेन्टिलेटर समेत थप गर्न पनि सुझाव दिएको छ । निजी अस्पताल र मेडिकल कलेजलाई पनि कोरोना अवधिभर कोरोना उपचार अस्पतालको रुपमा विकास गर्न नेकपाको सुझाव छ ।

कोराेना बाहेकका अन्य बिरामीले उपचार नपाएको गुनासोलाई तत्काल सम्बोधन गर्न पनि नेकपाले सुझाव दिएकाे छ । कोरोनाका कारण हुनसक्ने भोकमरी नियन्त्रणका लागि खाद्यान्न भण्डार बनाउनुपर्ने नेकपाको सुझाव छ । रोजगारी गुमाएर जीवन धान्न नसकेकालाई श्रममा आधारित खाद्यान्नको व्यवस्था मिलाउन नेकपाले सरकारसँग माग गरेकाे छ ।

कोराेनाबाट प्रभावित आर्थिक क्षेत्र, होटल, रेष्टुरेन्ट, हवाई सेवा, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग लगायतको पुनर्उत्थानको लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिएको छ । पर्यटन, यातायात लगायत क्षेत्रका मजदूरलाई राहत वितरण गर्नुपर्ने नेकपाको सुझाव छ ।

कोरोनाा कारण विदेशमा रोजागरी गुमाएर फर्किएका र स्वदेशमै पनि बेरोजगार भएका युवालाई रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन पार्टीले सुझाव दिएको छ । कोरोनाका कारण दैनिक गुजारा चलाउन नसकेकाको लागि स्थानीय सरकारको तर्फबाट खाद्य सामग्री उपलब्ध गराउन पनि नेकपाले आग्रह गरेको छ ।

कोरोना महामारीविरुद्ध लड्न पार्टीको तर्फबाट स्वयंसेवक समेत परिचालन गर्ने जनाएको छ । जसका लागि स्थानीय पार्टी कमिटिको सचिवालय बैठक तत्काल राखेर वस्तुनिष्ठ समीक्षा गर्न नेकपाले निर्देशन दिएको छ  । सोही आधारमा संक्रमणको अवस्था, सम्भावित जोखिम र गर्नुपर्ने कामको कार्ययोजना बनाएर अघि बढ्न पनि नेकपाले निर्देशन दिएको छ ।

आफ्नो तहका विदेशबाट आएकाको लगत राखी क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन, आमनागरिकमा स्वास्थ्य सचेतना फैल्याउन, सम्बन्धित स्थानीय तहसँग समन्वय गरी नयाँ आर्थिक क्षेत्र र कृषिको व्यावसायिक सम्भाव्यताको अध्ययन गरी काम अघि बढाउन पनि नेकपाले पार्टी कमिटीलाई निर्देशन दिएको छ ।

विपत्तिको बेलामा समाजमा भ्रम फैल्याउने क्रियाकलापमा लाग्नेलाई निरुत्साहित गर्न पनि नेकपाले कार्यकर्तालाई निर्देशन दिएको छ ।सनराइज खबरबाट