काठमाडौं । काठमाडाैं उपत्यकामा बिहीबारदेखि पनि केही क्षेत्रमा निषेधाज्ञा कायमै रहने भएकाे छ । काठमाडाैं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेकाे बैठकले पहिलेका आदेशको पुनरावलोकन गर्दै केही क्षेत्रमा निषेधाज्ञा कायमै राख्ने निर्णय गरेकाे हाे ।

जसअनुसार उपत्यकामा अत्यावश्यक बाहेकका सेवा दिने सवारी साधनमा जोर-बिजोर प्रणाली कायमै राखिएको छ । निजी र सार्वजनिक सवारीको जोर-बिजोर प्रणाली अर्को आदेश नहुन्जेलसम्म असाेज १ देखि पनि कायम रहने जिल्ला प्रशासन कार्यलयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । 

सवारी साधन चलाउँदा जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात खुलाउने निर्णय गरिसकेको छ । त्यसरी गाडी चलाउँदा सिट क्षमताको आधा मात्र यात्रु राख्ने र ५० प्रतिशतसम्म बढी भाडा लिन पाइनेछ । 

तर उपत्यकाबाहिर जाने सवारीसाधनलाई जोर–बिजोर लागू नहुँने विज्ञप्तिमा उल्लेख छ । उपत्यकाबाट बाहिर जाने र उपत्यका भित्रने सवारी साधनलाई जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नेगरी अर्को आदेश नहुन्जेसम्म प्रतिबन्ध खुला गरिएकाे विज्ञप्तिमा उल्लेख छ ।

अर्को आदेश नभएसम्मका लागि होटल तथा रेष्टुरेन्ट सञ्‍चालनमा लगाएको रोक बिहीबारदेखि हट्नेछ । यसअघि टेकअवेकाे व्यवस्था मात्र थियाे ।

यसअघि बार अनुसार पसल, व्यापार र व्यवसाय खाेल्ने आदेश जारी गरिएकाेमा भाेलिदेखि त्याे लागू हुने छैन । उपत्यकामा भाेलिदेखि सबैखाले पसल सबै बार खोल्न पाइने विज्ञप्तिमा लेखिएकाे छ । 

भीड हुनेबाहेक अन्य सबै व्यवसाय सञ्चालन गर्न दिइने विज्ञप्तिमा उल्लेख छ । सिनेमा हल, सैलुन, ब्युटिपार्लर, हेल्थ क्बल, स्पाजस्ता व्यवसायमा प्रतिबन्द कायमै छ । शैक्षिक संस्था, सभा समारोह, पार्टी तथा विरोध र्‍याली र सभामा लगाइएको रोक पनि कायमै राखिएको छ ।