काठमाडौं, ३ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पार्टीभित्र मदन भण्डारी फाउन्डेसनको नामबाट गुट चलाईएको गम्भीर आरोप लगाएका छन् । उनले अब कुनैपनि फाउन्डेसनका नामबाट पार्टीभित्र गतिविधि हुन नहुने भनाई राखेका छन् ।

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता नेपालले मदन भण्डारी फाउन्डेसन विघटन गर्नुपर्ने माग राखेका हुन । उनले भनेका छन्,‘फाउन्डेसनले पार्टीमा गुट जन्मायो । त्यो फाउण्डेशनमा गुटको मान्छेबाहेक कोही छैन् ।

पार्टीको मान्छे कोही छैन् ।’ नेता नेपालले पार्टी अब समाजवादतर्फ गइसकेको सुनाउँदै जनताको बहुदलीय जनवाद छोडिसकेको पनि स्पष्ट पारे ।अर्को प्रसङ्गमा नेता नेपालले आज बस्ने भनिएको सचिवालय बैठक स्थगित् गरिएकोमा आफ्नो असन्तुष्टि पोखेका छन् । उनले आजको बैठक केही समयको लागि बसेर स्थगित् गरेको भए पनि राम्रै सन्देश जाने थियो भन्ने धारणा राखेका छन् ।

संविधान दिवसको पूर्वसन्ध्यामा सचिवालय बैठक बसेर देशभरिका नेता/कार्यकर्तालाई संविधान दिवस भव्य रुपमा मनाउन सर्कुलर गर्न सकेको भएपनि राम्रै सन्देश जानेथियो भन्ने उनको भनाई छ ।

नेकपा सचिवालय बैठक आज बस्ने भनिएको थियो । तर, अन्तिममा आएर बैठक स्थगित् भएको सूचना प्रवाह भएको थियो । नेकपा सचिवालय बैठक पहिलो पटक तत्कालिन नेकपा (माओवादी केन्द्र) को मुख्यालय रहेको पेरिसडाँडामा बस्ने भनिएको थियो ।