काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पूर्व सहकर्मीलाई मूलधारमा फर्कन आग्रह गर्नु भएकाे छ ।
तत्कालीन माओवादी छाडेर हिँडेका नेताहरुलाई नेकपामा प्रवेश गराउँदै प्रचण्डले पूर्व सहकर्मी डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई मूलधारमै फर्कन आग्रह गर्नुभयाे ।
एकतापछि अन्य समूह पनि नेकपामा आइरहेको भन्दै प्रचण्डले फुटेर गएका नेताहरुलाई पनि मूलधारमा फर्किन आह्वान गर्नुभएकाे हाे । उहाँले भन्नुभयाे - 'अरु जनमत पनि हामीसँग जोडिन आएको छ, अब किरणजी, बाबुरामजी र विप्लवजी पनि मूलधारतिरै फर्कनुपर्छ, यसरी सोच्नु नै देश, कम्युनिष्ट र सर्वहारा वर्गको हितमा हुन्छ ।'
विवादहरु सँगै बसेर छलफल गर्न र विधि बनाएर हल गर्न सकिने प्रचण्डले बताउनुभयाे । नेपालमा कम्युनिष्टहरुले फुटकै कारण दुःख पाएको उहाँले सुनाउनुभयाे ।
'हामी विभाजित भएकाले समस्या भयो, कम्युनिष्ट फुटेकै कारण पञ्चायतले ३० वर्षसम्म शासन गर्न पायो, कांग्रेसले सरकार चलायो, अहिले कम्युनिष्ट एकताको तागत हामीले विश्वलाई देखाइसकेका छौं' - प्रचण्डले भन्नुभयाे ।
प्रचण्डले एकतामा बल हुँदो रहेछ भन्ने कुरा एमाले र माओवादी केन्द्रको एकताले पुष्टि गरिसकेको बताउनुभयाे । ‘एकतामा ठूलो ताकत हुँदो रहेछ, विश्वभर कम्युनिष्टहरु कमजोर भएका बेला एकता हुने वित्तिकै करिब दुई तिहाइ बहुमत आयो, कसैलाई एक्लै बहुमत ल्याउँछु भन्ने सोचेको भए त्यो मनोगत भ्रम मात्रै हो ।’
समृद्धि, सामाजिक न्याय लगायत विषयमा अब कम्युनिष्टहरु एकै पार्टीभित्र बसेर बहस गर्नुपर्ने पनि प्रचण्डले बताउनुभयाे । बहस र विवाद नभएको संसारमा कम्युनिष्ट पार्टी नै नहुँने उहाँकाे भनाइ छ ।
समाजवादको यात्रामा अगाडि बढ्न कम्युनिष्ट शक्ति एक हुनुपर्ने उहाँले बताउनुभयाे । नेकपा नेतृत्वले समाजवाद निर्माण गर्ने आधार तयार पारिरहेको पनि उहाँले जानकारी दिनुभयाे ।




















