काठमाडौं । नेपाल–चीनको सिन्धुपाल्चोक स्थिति तातोपानी नाका आजबाट पुनः खुल्ने भएको छ । असोज १९ गते खुलेलगत्तै कोरोनाको कारण बन्द भएको नाका आजबाट पुनः खुल्न लागेको हो ।
यसअघि कोरोना महामारीका कारण बन्द रहेको नाका खुलेलगत्तै सामान लोड–अनलोड गर्ने तीन जना नेपाली कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनमा नै बन्द गरिएको थियो ।
अब उच्च सुरक्षा र स्वास्थ्य सतर्कताका साथ नाका सञ्चालन गर्न लागिएको हो । वाणिज्य विभागका अधिकारीको आज सीमा नजिकै बैठक बस्ने भएको छ ।
चीनिया पक्षले कोरोना प्रतिरोधका लागि नेपालतर्फ निर्मित संरचना निरीक्षण गर्ने छ । तातोपानी पुलदेखि नेपालतर्फको गेटसम्म बारेर सामान नेपाली भूभागमा छोड्ने गरी नाका खोल्ने प्रक्रिया अघि बढ्नसक्ने बताएको छ ।
अब नेपाल र चीनबीच तातोपानी पुलदेखि नेपाली भन्सारको गेटसम्म सिल गरेर स्वास्थ्य प्रोटोकल अपनाइ सामान झारिने छ । तातोपानी नाकामा दैनिक ५ वटा ट्रकमा ३० टनका दरले सामान चिनियाँ ट्रकले नेपाली भूभागमा छोडिदिनेछन् ।


