१७ कात्तिक, काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले पार्टीका महासचिव विष्णु पौडलेले पार्टीभित्रको समस्या बारेमा गम्भीर बनेर सामाजिक संजालमा दिएको अभिव्यक्तिको गाम्र्भीयता विगतमा देखाएको व्यवहारमा मेल नखाएको भन्दै समिक्षा गर्न आग्रह गरेका छन् ।

पार्टी एकिकरणमा महासचिव बनेको दिनदेखि पार्टीको अवस्थाप्रति एसप्रकारको चिन्ता पहिलोपटक सार्बजनिक गरेको भन्दै नेता खतिवडाले भावनात्मक भेलमा कार्यकर्तालई बगाएर कुनै अर्को दुनो सोझ्उयाउन बोल्नु भएको त होइन भन्ने प्रश्न समेत गरेका छन् ।

महासचिव पौडेललाई सम्बोधन गर्दै नेता खतिवडाले सामाजिक सन्जालमा लेखेका छन्,

नेकपाका महासचिव क. विष्णु पौडेल
मिति २०७७÷७÷१६ गते तपाईंको फेसबुक वालमा प्रकाशित सार्बजनिक अभिव्यक्ति पढ्न पाए । गम्भीर बनेको अनुभव गरे । खै के सम्झेर यति लेख्नु भो त्यो चाहिँ अनुमान गर्न सकिन । एकीकरणमा महासचिव बन्नु भएको दिनदेखि यता पार्टीको अवस्थाप्रति यसप्रकारको चिन्ता र गम्भीरता पहिलो पटक सार्बजनिक गर्नु भएको देखेर अचम्म लाग्यो । तपाइले बिगतमा गरेको व्यवहार र यो गम्भीरताले मेल खाएन र केही भन्न मन लाग्यो ।

कमरेड, जे भन्नू भो, जति भन्नू भो–बोल्नु भयो नि,यसका लागि धन्यवाद । आशा गरौ सच्चा मनले बोल्नु भयो । भावनात्मक भेलमा कार्यकर्तालाई बगाएर कुनै अर्को दुनो सोझ्याउन बोल्नु भएको होइन होला भन्ने ठानेर लेख्दैछु कि, निम्न जिज्ञासाहरुलाई श्याम–श्वेत प्रष्टिकरण पुन सार्बजनिक गर्नुभो भने पत्याउने प्रयास गरौला ।

– के कारणले पार्टीको एकीकृत अस्तित्व संकटमा परेको हो ?

-यसमा कसले गल्ति गरेको छ ? साँचो कुरा बताउनु भएन नि ।

-पार्टीको एकीकृत अस्तित्व जोगाइ राख्नको लागि तपाईंले के कस्तो भुमिका खेल्नुभयो ? एकता सुदृढ बनाउनका लागि महासचिवको उत्तम ूभमिका निर्बाह गर्नुभएको भए यस्तो हुदैन थियो कि ?

-जब आफै सत्यको पक्षमा लाग्नु हुन्न, विध–बिधान एवम एकिकरणको पक्षमा दृढतापूर्वक उभिनु भएन बरु पक्षपातपुर्र्ण कार्यहरु सम्पादन गर्ने सचिवको कार्य गर्नु भएको देखियो । यस्तो अवस्थामा तपाईंको आह्वानले कस्तो महत्व राख्ला र ?

-पार्टीभित्र एकीकरणको प्रारम्भिक समयदेखि सबै भेदभावपूर्ण, अपमानजनक, निषेधपूर्ण कार्यहरुलाई सच्याउन के कति प्रयास गर्नु भो र ? गलत कुराको प्रतिवाद गर्नु भो त ?? विचार, राजनीतिक नैतिकता, आदर्शको सम्बद्र्धन र विकास, जिल्ला, प्रदेश, केन्द्र को एकीकरण, कार्य बिभाजन, चुनावमा टिकट वितरण, राजनीतिक नियुक्ति आदिमा न्यायको पक्षमा उभिएको त देखिएन त ? पक्षपातलाइ नै मलजल गरेको देखियो त ।

-जब तपाईं जस्ता संघर्षमा खारिएका नेताहरु विचारको राजनीतिवाट च्युत हुँदै आदर्शहीन अबसर र गैर कम्युनिष्ट शक्ति सन्चयको राजनीतिमा उच्चताबोध गर्न लाग्नु भयो नि,पार्टी त्यहिबाट संकटको बाटोमा लाग्न थाल्यो, हैन र ?

-प्राकृतिक र मानबिय कोणबाट हेर्दा सबै सङ्ग कमजोरी छन् र हुन्छन् । तर आजको सचेत कार्यकर्ताको समुदायले नियत र निर्दोषिता दुबै कुरालाई राम्ररी बुझ्न सक्दछ । त्यसैले सबै भन्दा उच्च, जिम्मेवार र कार्यकारी जवाफदेहिताको भूमिका निर्बाह गर्नुपर्ने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीले नै सबै भन्दा बढी गल्ती गर्ने, नियतवश गल्तिलाई अनेक पटक दोहोर्याउने र पार्टी तथा सामुहिक निर्णयलाई सधै बेवास्ता गर्ने कार्य गरिरहनु भएको बखत यसको बिरोध नगरेर, बरु त्यो प्रबृत्तिलाइ झन बलियो बनाउन सहयोग गरेर हिजो सम्म लागि नै रहनु भएको थियो, आज अचानक कसरी पार्टी संकटमा परेको बोधी ज्ञान आयो, अचम्म लागेको छ । के अब खराव प्रवृत्तिका विरुद्धमा प्रतिवाद गर्ने अठोट गर्नु भएको हो ? के भाद्र २६ को सहमति उलंघन गर्नेको पक्षमा म अब उभिने छुइन भन्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको हो ?

-क. केपि ओलीले धेरैपटक अर्को पार्टी बनाउने जमर्को गर्नु भयो, राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर पार्टी फुठाउने आधार तयार गर्नु भएको थियो–चारैतिरको दवाबका कारण पछि फिर्ता लिनु भयो । जबजको नाममा कृत्तिम विवाद झिकेर, पूर्व एमाले एक हौ भन्ने फण्डा झिकेर, नेकपा एमाले दर्ता गर्न लगाएर पार्टी नै फुटाउने नत्र अलग पार्टी बनाउने धेरै पटक धम्की दिइनै नै रहनु भएको छ । तपाईंहरुले प्रतिवाद गर्नु भयो र यो कुरामा साथ नदिने घोषणा तपाई तीन चार कमरेडहरुले गर्नु भयो भने धम्कीको यो वाक्यांश सधैको लागि बन्द हुनेछ । त्यसो गर्नु भयो भने आम नेता कार्यकर्ता लाई पार्टी फुट्न लाग्यो भनेर डरको सन्देश प्रवाह नै गर्नु पर्दैन । फुटको पक्षमा म लाग्दिन भनेर घोषणा गर्नुहोला भनेर लाखौ समर्थक र शुभ चिन्तकहरु पर्खिरहनु भएको छ । तसर्थ आफ्नै धरातल प्रष्ट पार्नु हुन सुझाव दिन चाहान्छु ।

-गल्तिको निर्ममतापूर्बक समीक्षा गर्न र नयाँ गर्बिलो यात्रा तय गर्न पार्टी को नियमित बैठकहरु बस्नु पर्दछ । कमिटीको निर्णयको पालना गर्नु पर्दछ । बैठकबाट भागेर, छलेर र सामुहिकतालाई तिरस्कार गरेर पार्टी चल्दैन । अब तपाईंको काधमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकको आयोजना गर्न हिम्मत गर्ने, जो भाग्न खोज्छ उसको कडा आलोचना गर्दै पार्टी जोगाउने कार्यमा लाग्ने जिम्मेवारी छ । फुटको विरुद्धमा उभिने चुनौतिको सामना गर्न तयार हुनु भयो भने मात्र तपाइको गम्भीर अभिब्यक्तिले सार्थकता पाउला ।

म आशा गर्न बाध्य छु तर विश्वास गर्न चाहिँ सकिरहेको छुइन ।
यो पार्टी यो अबस्थामा आइपुग्नुमा तपाइको पनि हात छ । अब सच्याउने दिशामा लाग्न चाहनु हुन्छ भने पार्टीको झण्डा र देशको माटो छोएर सपथ खानुहोस –म किमार्थ पार्टी फुट्न दिन्न र कथम कदाचित फुटलाई रोक्न सकिन भने पार्टी फुटाउने वा अर्को पार्टी बनाउने दुष्ट यात्रामा साथ दिन्न ।
धन्यवाद ।’

संसार न्युजबाट