काठमाडौ । नेपाली काँग्रेसले संसदको विशेष अधिवेशन बोलाउने तयारी सुरु गरेको छ । कात्तिक २१ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको नेपाली कांग्रेस अहिले पदाधिकारी बैठकमा छ । संसद बोलाउने निर्णय भने केन्द्रीय समितिको बैठकपछि नै बोलाउने प्रक्रिया सुरु गर्ने कांग्रेसका एक नेताले जानकारी दिए ।

सरकारले अधिवेशन आह्वानको सिफारिस नगरे एक चौथाईको समर्थन जुटाएर अगाडि बढ्ने कांग्रेसको तयारी छ । कहिले बोलाउने निश्चित नभए पनि विशेष अधिवेशन बोलाउने कुरामा कांग्रेसका प्रायः सबै पदाधिकारीको एक मत रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुमाथी अविश्वासको प्रस्ताव आउनसक्ने डरले संसदको अधिवेशन आह्वान गरेको छैन । सरकार भाग्न खोजेपनि संसदीय व्यवस्थालाई प्रयोग गरेर विपक्षी दल कांग्रेसले नै अधिवेशन आह्वानको प्रक्रिया थाल्ने बुझिएको छ ।

संसदमा अधिवेशन सुरु हुने वित्तिकै प्रधानमन्त्री ओली सरकार बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने संकेत देखिन्छ । यसमा नेकपा कै असन्तुष्ट खेमाले सहयोग गर्ने देखिन्छ ।

यसअघि, संसद चलिरहेको बेला सभामुख अग्नि सापकोटालाई नै थाहा नदिएर प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद बैठक अन्त्य गरेकी थिइन् । देशमा कोरोना महामारी लगायतका विभिन्न राष्ट्रिय महत्वका विषयहरु अलपत्र परिरहेको बेला संसद बैठक अन्त्य गर्ने सरकारी निर्णयको कांग्रेसले विरोध गर्दै आएको छ ।

सरकार र सत्तारुढ पार्टी कोरोना महामारी लगायतका विषयहरुलाई बेवास्ता गर्दै आन्तरिक किचलोमा अल्झिएको छ । संसद अधिवेशन बोलाउनको लागि संसदमा कायम रहेका सदस्यहरुको २५ प्रतिशत सांसदको हस्ताक्षर आवश्यक हुन्छ । संविधानको धारा ९३ को उपधारा ३ मा तोकिएअनुसार एक चौथाई सांसदहरुले चाहेको खण्डमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ ।

प्रतिनिधिसभामा नेकपाका १ सय ७४ र नेपाली कांग्रेसका ६३ जना सांसद रहेका छन् । २५ प्रतिशत संख्या पुर्‍याउन कांग्रेसलाई थप केही सांसद आवश्यक पर्छ । प्रतिनिधिसभामा २७५ सदस्य भएकाले एक चौथाई पुग्न ६९ सांसद आवश्यक पर्छ ।

नेपाली काँग्रेसका ६३ मध्येका विजयकुमार गच्छदार र अफताभ आलम निलम्बनमा रहेकोले एक चौथाई पुर्‍याउन काँग्रेसलाई ९ जना अन्य दलका सांसदको समर्थन आवश्यक हुन्छ ।

काँग्रेसले संसदमा रहेको अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टीसँग सहयोग लिनेबारे संवाद सुरु गरेको छ । यसबारे जसपाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।