काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले समानान्तर पार्टी अभ्याश थाल्नुभएको छ । उहाँहरुले जनता समाजवादी पार्टीसँगको सहकार्यलाई पनि व्यापक बनाउन थाल्नुभएको छ ।
यस क्रममा उहाँहरुले नेपाल बार एसोशिएसनमा आगामी दिनमा हुने चुनावमा आफ्नो गुटको तर्फबाट बेग्लै उम्मेदवार उठाउने र ती उम्मेदवारलाई पार्टीको आधिकारिक उम्मेदवार बनाउन प्रयास गर्नुहुने भएको छ ।
बार तथा अन्य विभिन्न पेशागत संगठनमा दलीय खेमाको आधारमा चुनाव हुने गरेको छ । प्रचण्ड र माधव नेपालको बेग्लाबेग्लै समूहले मिलेर समानान्तर पार्टी चलाउने अभ्याश थालेको हो । यस क्रममा आज दुई खेमाका नेताहरुले वारको आगामी चुनावलाई लक्षित गर्दै अधिवक्ताहरुसँग छलफल गर्नुभएको छ ।
आजको छलफल आयोजना स्थल अर्थपूर्ण छ । स्रोत अनुसार उहाँहरुले पार्टी केन्द्रीय कार्यालय मातहत रहेको पेरिसडाँडामा छलफल आयोजना गर्नुभएको हो ।
एमाले र माओवादी विलय हुनु अघि सो कार्यालय तत्कालीन एनेकपा माओवादीको कार्यालय रहेको थियो । विलयपछि तत्कालीन एमालेको कार्यालय नै नेकपाको केन्द्रीय कार्यालय बनेको थियो । अहिले आएर दुवै खेमाका नेताहरुले केन्द्रीय कार्यालय प्रयोग नगरेर मातहत कार्यालय अर्थात् विगत माओवादीको कार्यालय प्रयोग गर्नुभएको हो ।
स्रोत अनुसार आजको छलफलमा प्रचण्ड र माधवका अलावा प्रवक्ता नारायणकाजी श्रेष्ठ, पार्टी संसदीय दलका मूल सचेतक देवप्रसाद गुरुङ, रघुजी पन्त लगायतका नेताहरुको उपस्थिति थियो । उहाँहरुले नेकपासँग निकट, पूर्व माओवादीसँग निकट तथा माधव नेपालको समूहसँग निकट अधिवक्ताहरुलाई छलफलका लागि बोलाउनुभएको थियो ।
स्रोत अनुसार सो छलफलको डिजाइन डा. बाबुराम भट्टराईले गर्नुभएको हो । तर, भट्टराई आफू भने उपस्थित हुनुभएको थिएन । स्रोत अनुसार भट्टराईले पार्टीको तर्फबाट लक्ष्मणलाल कर्णलाई छलफलमा पठाउनुभएको थियो ।
छलफलमा नेकपामा प्रचण्ड र माधवले चलाइरहनुभएको आन्तरिक गुटगत राजनीतिका बारेमा खासै कुरा नभएको बताइएको छ ।
उच्च स्रोतहरुका अनुसार आगामी दिनमा पेरिस डाँडा कार्यालयमा प्रचण्ड र माधव मिलेर विभिन्न पेसागत फाँटका मानिसहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । यस्ता छलफलमा समाजवादी पार्टीका डा. भट्टराईले खटाउनुभएको प्रतिनिधि पनि रहनुहुने भएको छ ।
पार्टीभित्रकालाई मात्र नभएर बाहिरकालाई पनि समेट्ने क्रममा समाजवादी पार्टीभित्रका डा. भट्टराई पक्षधरहरुलाई समेट्न थालिएको जानकारी प्रचण्ड निकट एक नेताले सनराइज खबरलाई जानकारी दिनुभएको छ ।
नेकपाभित्र गुटगत अवस्था अस्वाभाविक बन्दै जाँदा बाबुराम भट्टराई पक्षलाई समेत समेटेर प्रचण्ड–माधव खेमाले छलफल अभियान थाल्नुलाई अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राजीनामा दिन्न’ भने लगत्तै प्रचण्ड–माधव पक्षले समाजवादीको डा. बाबुराम पक्षधरहरु सहितको छलफल थाल्नुलाई झनै अनौठो मानिएको छ । सनराइज खवर बाट


