तनहुँ,१७ मंसिर । प्रहरीले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएको छ । व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्ने विषयमा भएको विवादका क्रममा भएको प्रदर्शनमा गृह जिल्ला तनहुँ पुगेका वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वरिष्ठ नेता पौडेलले सामाजिक संजाल मार्फत् आफुलाई पक्राउ गरिएको जानकारी दिएका छन् । ‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस ’, पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उद्घाटन कार्यक्रममा विवाद हुँदा कांग्रेस र नेकपा कार्यकर्ताबीच विवाद भएपछि सम्भावित झडप रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी राखेको छ । त्यस्तै स्थानिय प्रशासनले आज बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको हो।
पुल उद्घाटनका विषयमा विवाद चर्किएपछि निषेधाज्ञा
‘नेपाली कांग्रेसले जसरी पनि पुल उद्घाटन गर्ने र युवा संघले जसरी पनि रोक्ने भनी विवाद सृजना भएको छ,’ प्रमुख जिल्ला अधिकारी सागर आचार्यले भने, ‘पूर्वाधार कार्यालयले पनि तत्कालका लागि पुल उद्घाटन कार्यक्रम रोकिदिन अनुरोध गरेपछि सुरक्षा समितिको बैठकबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो ।’
एक पक्ष पुल उद्घाटनका पक्षमा रहेको र अर्को पक्ष विरोधमा उत्रँदा हुन सक्ने झडपको स्थितिलाई विश्लेषण गरी निषेधाज्ञा लगाइएको प्रशासनको सूचनामा उल्लेख छ । व्यास–१ र १० को पृथ्वी राजमार्गमा चल्ने सवारीसाधनबाहेक गल्बुबेसी, बुल्दीखोला पुल, रानीगाउँ, घाँसीकुवा, मुसेखोला अंम्रेनीलगायत ४ किल्ला क्षेत्रभित्र ५ जनाभन्दा बढी व्यक्ति एक ठाउँमा जम्मा हुन रोक लगाइएको छ । व्यास नगरपालिकाले बुधबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबाट पुल उद्घाटन गर्ने कार्यक्रम तय गरेको थियो ।
नगरपालिकाले बलमिचाइँ गर्दै आफ्नो क्षेत्रभन्दा बाहिर गएर कार्यक्रम गरेकाले विरोधमा उत्रनुपरेको संघका अध्यक्ष ईश्वर बस्यालले बताए । उनले भने, ‘जसको जोत उसैको पोत हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
कार्यक्रम रोक्न माग गर्दै संघले दमौलीमा मोटरसाइकल र्यालीसहित जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संघ अध्यक्ष बस्याल, नेकपा व्यास नगरपालिका–१ का अध्यक्ष ज्ञानेन्द्र बसौलालगायत छन् ।


