काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको सर्वदलीय बैठक बोलाएका थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकको शुरुमै बैठकको बिषय बारे आफ्नो धारणा राखे ।

प्रधानमन्त्री ओलीले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एक जुट हुन आह्वान गरे । प्रधानमन्त्री ओलीले बैठकमा कोभिड–१९ विरुद्धको रोकथाम विरुद्ध सरकार लडिरहेको बेला लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धि विरुद्ध नै गतिबिधि भएको बताए ।

प्रधानमन्त्री ओलीले सडकमा भइरहेको संविधानविरोधी गतिविधिलगायत विषयमा दलका नेताहरुको धारणा र सुझाव मागे । सहभागी एक नेताका अनुसार सहभागीहरुले धारणा वा सुझाव होइन प्रधानमन्त्री विरुद्ध आक्रोश पोखे । ती नेताले भने ‘सर्वदलीय बैठकमा प्रधानमन्त्रीलाई सुझाव भन्दा नी सबै नेताहरुले प्रधानमन्त्री ओली र सरकारको कार्यशलीको बिरोध र आलोचनामै सबैले समय खर्चिनुभयो । आजको बैठकमा प्रधानमन्त्री ओली निरीह र नाजवाफ बन्नुभयो ।’

सर्वदलीय बैठकमा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायतका सहभागी थिए ।

प्रतिपक्षी कांग्रेसतर्फबाट सभापति तथा पूर्वप्रधानमन्त्री देउवा, उप–सभापति विजय गच्छदार, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि, सहमहामन्त्री प्रकाशशरण महतलगायत नेता सहभागी थिए । यसैगरी बैठकमा जनता समाजवादीकातर्फबाट अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल र राप्रपाबाट दीपक बोहोरा सहभागी भए ।

करिब ३ घण्टा चलेको बैठकमा सहभागी नेताहरुले प्रधानमन्त्री ओलीलाई सुझाव वा धारणा कम र प्रधानमन्त्रीकै आलोचनामा बढी समय खर्चिए बैठकमा काँग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवाले सडकमा देखिएको प्रदर्शन प्रधानमन्त्री कै कार्यशैलीको कारण समस्या भएको बताए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओली र सरकारको तिव्र बिरोध गरे । नेता पौडेलले प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीले नै समस्या उत्पन्न गरेको, भ्रष्टाचार सम्बन्धीका आरोपमा ढाकछोप गरेको लगायतका आरोप लगाए । उनले भने, ‘आफन्त र मन्त्रीहरूका भ्रष्टाचारका आरोपहरूको ढाकछोप आफैं अगाडि सरेर गर्नुभयो। देशमा भ्रष्टाचारको बिगबिगी छ। तर ठूला भ्रष्टाचार काण्ड चलाउन नसक्ने अवस्थामा अख्तियार पुगेको छ। अदालत पनि प्रभावमा पारिएकोजस्तो देखिन्छ ।’

नेता पौडेलले आफूमाथि तनहुँमा भएको धरपकडको बिरोध समेत गरे । नेता पौडेलले सरकार प्रतिगामी भएको भन्दै संसदबाट सरकारको भण्डाफोर गर्ने चेतावनी समेत दिए

उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री ओलीले शासन गर्ने नैतिक अधिकारसमेत गुमाएको बताए । उनले भने, ‘हाम्रो आधिकारिक निष्कर्ष हो । यो सरकारसँग शासन गर्ने राजनीतिक र नैतिक अधिकार छैन ।’ राष्ट्यि जनमोर्चाका महासचिव जनकराज शर्माले प्रतिगामीहरुले राष्ट्यिता र गणतन्त्रमाथि जसरी धावा बोल्नुमा सरकारकै कार्यशैली जिम्मेवार रहेको बताए ।

सत्तारुढ नेकपाका शिर्ष नेताहरुले भने प्रतिपक्षी दलका नेताहरुको बिरोध सुनेर बसेका थिए । नेताहरुले प्रधानमन्त्रीको आलोचना सहित सरकारको कामको बिषयमा प्रश्नै प्रश्न उठाएपछि नाजवाफ भएर प्रधानमन्त्रीले उत्तर दिन नसकेको एक नेताले बताए । बैठकमा प्रधानमन्त्री ओलीको एकोहोरो बिरोध मात्रै भएपछि बैठकले कुनै निर्णय गर्न समेत सकेन ।नयापेज बाट