काठमाडाैं,२७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कमानसिंह लामाको निधनपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा तानिनु भएको छ । उहाँ विवादमा आएपछि बिहीबार निधन हुनुभएका नेकपा नेता, पूर्व सांसद् तथा राजदूत कमानसिंहकी श्रीमती इन्द्रमाया तामाङले विज्ञप्ति निकाल्नु भएकाे छ । इन्द्रमायाले आफू र लामाबीच भएका केही विवाद र असमझदारीबाट विगतमा सृजित केही घटनामा नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा विवादमा मुछेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

हेर्नुस् विज्ञप्ति जस्ताकाे तस्तै:

मेरो श्रीमान एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, पूर्वसांसद् कमरेड कमानसिंह लामाको असामयिक निधनले म र मेरो परिवार अत्यन्त शोकको अवस्थामा छाैं । यही बेला म र कमरेड लामाबीच भएका केही विवाद र असमझदारीबाट विगतमा सृजित केही घटनाहरुमा हाम्रो पार्टीका नेता एवं प्रवक्ता आदरणीय कमरेड नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछेर मिडियामा अनर्गल झुटो प्रचार गरिएकोमा म अत्यन्त दुःखी छु । घटनाबारे सत्य तथ्य म प्रस्तुत गर्छु ।

विगत २२–२३ बर्षसम्मको हाम्रो वैवाहिक सम्बन्धमा खासै ठूलो अन्तरबिरोध र बैमनस्यता कहिल्यै भएन । घर ब्यवहार र राजनीतिक जीवनमा दुवै जनाले आ–आफ्नो जिम्मेवारी सम्हाल्ने क्रममा एक अर्काको साथ सहयोग रहेकै थियो । हामी दुवै जनाको सधै व्यक्तिगत लाभ र सम्पत्ति जोड्ने भन्दा पार्टी र राजनीतिक जीवन प्राथमिकतामै रह्यो । उहाँ पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहँदा मेरो साथ र सहयोग रहिरह्यो । र, म पनि पार्टी र जनवर्गीय संगठनको केन्द्रीय जिम्मेवारीमा रहँदा उहाँको सहयोग पाइरहेँ ।

यसैक्रममा सिन्धुपाल्चोकको गुम्बा गाउँपालिका–५ अन्तर्गत श्री याम्बलिङ हाइड्रोपावर प्रा.लि. हामी दुवै जनाको नाममा संचालन गर्नेगरी नेपाल सरकारबाट अनुमति प्राप्त गर्‍यौं । सो हाइड्रो संचालनका लागि विगत १० बर्षदेखि हाम्रो चलअचल सम्पत्ति, आफन्त इष्टमित्र, पार्टीका साथीहरुको समेत ऋण धन लिएर संचालन गर्ने प्रयत्न गर्‍यौं । तर न हामीले हाइड्रो संचालन गर्न सफल भयौं, न त साथीभाइको ऋण नै चुक्ता गर्न सक्यौं । त्यहीबेला नेपाल विद्युत प्राधिकरणले हाम्रो अनुमतिपत्र खारेज गर्ने प्रक्रिया थालेपछि पार्टीका साथी र हाइड्रोको समेत अनुभव प्राप्त गर्नुभ्एको नाताले सुसन कर्माचार्य र अन्य साथीहरुलाई हामीले तपाईहरु पनि संलग्न भएर संस्था बचाइदिनुस् भनेर पटक–पटक अनुरोध गर्‍यौं । सोही बमोजिम हामी दुवै जनाको सहमतिमा हाम्रो केही सेयर रहनेगरी सबै आर्थिक र कानुनी प्रक्रिया पुर्‍याएर हस्तान्तरण गर्‍यौं ।

तत्कालीन अवस्थामा मेरो सेयर धेरै थियो र मेरा पति कमरेड लामाको सेयर थोरै थियो । अन्य ब्यक्तिको सेयर पनि थियो । हामीले संचालन गर्न नसक्दा साथीभाइको ऋणले हाम्रो आर्थिक अवस्था टाट पल्टिने र हाम्रो राजनीतिक र सामाजिक जीवन समेत सिद्धिने अवस्थामा पुगेको बेला सुसन कर्माचार्य लगायतका साथीहरुको कम्पनीले हाम्र्रो उद्धार नै गर्‍याे । सो क्रममा सुरुकै अवस्थामा हाम्रो राजनीतिक अभिभावक भएकाले हामीमा परेको समस्या कमरेड नारायणकाजी श्रेष्ठलाई पनि हामीले नै जानकारी गराएका थियौं । त्यसक्रममा उहाँले हामीलाई आर्थिक पारदर्शीता र अनुशासनको बारेमा सम्झाउनुभएकै हो । तर त्यही कुरालाई जोडेर उहाँको राजनीतिक निष्ठापूर्ण जीवनलाई बदनाम गर्ने निहीत स्वार्थपूर्ति गर्ने केही व्यक्ति वा संस्थाहरु लागिरहेकोमा म घोर भत्सर्ना गर्दछु । उहाँ हाम्रो यो आर्थिक बिषयमा न हिजो संलग्न हुनुहुन्थ्यो, न आज संलग्न हुुनुहुन्छ ।

जहाँसम्म हामी दुई जना (श्रीमान श्रीमती) बीचको असमझदारीको कुरा छ, त्यसको एकमात्र कारण श्रीमान (कमानसिंह लामा) को भन्दा हाइड्रोपावर कम्पनीको सेयर संख्या मेरो बढी हुनु नै हो । जसका कारण कानुनी प्रक्रिया पूरा गरिसकेपछि पनि मेरो श्रीमानले पटक पटक मलाई पैसाको लागि विभिन्न बहाना बनाई तनाव दिने, उहाँले भनेजति रकम नदिए कुट्ने, पिट्ने र मानसिक यातना दिनेदेखि विभिन्न लान्छना लगाउने काम समेत गर्नुभयो । बिरामी अवस्थामा मानसिक यातना दिने क्रम रोकिएन । तर पनि मबाट उहाँप्रति मेरो दायित्व पूरा गर्ने कुरामा कुनै कसर बाँकी राखेको छैन । मलाई जति दुःख र पीडा अरु कसलाई हुनसक्छ ? मेरो श्रीमान जसलाई बचाउन सकिएन, यस्तो पीडाको अवस्थामा पनि केही तत्वहरुले म, मेरो परिवार र राजनीतिक नेतृत्वसँग खेलवाडको बिषय बनाइरहेको देख्दा दुःख लागेको छ । यो दुःखद अवस्थामा म र मेरो परिवारलाई सहानुभूति दिने सबैप्रति हार्दिक धन्यवाद दिन चाहन्छु ।

इन्द्रमाया तामाङ