काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदको बैठकमा नजानुको कारणबारे बोलेका छन् । उनले आफूले जननिर्वाचित सर्वोच्च निकाय सङ्घीय संसद्को गरिमालाई माथि उठाउने विषयलाई सदैव जोड दिँदै आएको बताएका छन् ।
संवैधानिक निकायमा नियुक्ति गर्ने पदाधिकारीको टुंगो पनि पार्टीमा कुनै सल्लाह नगरी प्रधानमन्त्री केपी शर्मा ओली एक्लैले लगाएको नेकपा नेताहरुले आरोप लगाउँदै आएका छन्।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग यस विषयमा प्रधानमन्त्री ओलीले छलफल गरे पनि निर्णय गर्ने बेलामा भने कुनै जानकारी नदिएको उनी निकट नेताहरुले बताएका छन्।
प्रचण्डसँग कुनै सल्लाह नगरेका प्रधानमन्त्री ओलीले सभामुखलाई समेत पदाधिकारी नियुक्तिको विषयमा जानकारी नै दिएका थिएनन्।
सभामुख सापकोटाका तर्फबाट उनका प्रेसविज्ञ श्रीधर न्यौपाने मंगलबार जारी गरेको प्रेस नोटमा भनिएको छ, “जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने थलो, सङ्घीय संसद् प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएदेखि उहाँले निष्पक्ष र तटस्थरुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनुभएको अवगत नै छ ।”
संवैधानिक परिषद्को बैठकका सम्बन्धमा सभामुख सापकोटाको विषयमा जोडेर आएका प्रचारका सन्दर्भमा स्पष्ट पार्न प्रेस नोट जारी गरिएको बताइएको छ । यही मङ्सिर २८ गते सङ्घीय संसद् सेवा दिवस २०७७ को पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत बिहान ८ः३० बजे सङ्घीय संसद्, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक स्वयं सभामुखले आफ्नै अध्यक्षतामा आयोजना गरिएकाले संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन नसेकेको प्रेस नोटमा उल्लेख छ ।
सोसम्बन्धी जानकारी यसअघि नै गराइसकिएको थियो । त्यसदिन बिहान ९ बजे परिषद् बैठकमा उपस्थितिका लागि पत्राचार गरिएको सभामुखको सचिवालयले जनाएको छ । मंगलबारको बैठकका सम्बन्धमा सभामुखले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा प्रधानमन्त्रीज्यूलाई जानकारी गराएको प्रेस नोटमा उल्लेख छ । प्रेस नोटमा भनिएको छ, “राज्य सञ्चालनमा दीर्घकालीन एवं दूरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषद्का सदस्यबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ ।”
“नेपालको संविधान, संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तलाई यहाँनेर स्मरण गर्नु उपयुक्त हुन्छ । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधिसभाको विपक्षीदलको नेतासमेत सहभागी रहने संवैधानिक परिषद्को बैठकले लिने निर्णयले दूरगामी महत्व राख्छ भन्ने विषयलाई सम्माननीय सभामुखज्यूले गहिरोसँग आत्मसात् गर्नुभएको छ”, प्रेस नोटमा भनिएको छ,
उनले संसद्लाई जीवन्त र जनमुखी बनाउने सूत्रवाक्यलाई हृदयङ्गम गरी जननिर्वाचित सर्वोच्च निकाय सङ्घीय संसद्को गरिमालाई माथि उठाउने विषयलाई सदैव जोड दिँदै आएको उल्लेख गरिएको छ । जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने थलो, सङ्घीय संसद् प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएदेखि सभामुख सापकोटाले निष्पक्ष र तटस्थरुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको अवगत नै रहेको स्पष्ट पारिएको छ ।
प्रेस नोटमा भनिएको छ, “उहाँ सङ्घीय संसद्को गरिमा कायम राख्दै संवैधानिक परिषद्को मर्यादा र जिम्मेवारीप्रति सदैव सचेत हुनुहुन्छ ।”




















