काठमाडौं, १ पुस । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनु पर्ने बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले संविधान र लोकतन्त्रमाथि गम्भीर खेलवाड गरिरहेको आरोप लगाएका छन् ।

babu-1
तत्काल संसद अधिवेशन बोलाएर महाअभियोग लगाउनु पर्ने उनको मत छ । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति भण्डारीको कदम संविधान विरोधी रहेकाले वक्तव्यवाजी वा गनगन मात्रै नगरेर महाअभियोग प्रक्रियामा जानुपर्ने उनको भनाई छ । सरकारले हिजो संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि यसको चौतर्फी विरोध भईरहेको छ ।


डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहँदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहँदा सत्ता पक्षभित्रका र विपक्षका नेताहरू बैठक–वक्तव्यवाजी र गनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र राप्रपाका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाभियोगतर्फ लाग्ने हो ?’