काठमाडौं,३ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता नलिएपछि फेरि नेकपा नेताहरु संसद अधिवेशनको माग गर्दै पत्र लिएर राष्ट्रपति कार्यालय जाने तयारीमा रहेको बुझिएको छ ।

सरकारले मसिंर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि सत्तारुढ नेकपाभित्रै लगायत अन्य दलहरुले चर्को विरोध गरेका थिए । गत १ गते अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली तयार भएपनि अहिलेसम्म फिर्ता नभएकाले आफूहरु फेरि संसद अधिवेशन माग गर्दै शितल निवास जाने तयारीमा रहेको एक नेताले जानकारी दिएका छन् ।

संसद अधिवेशन माग गर्दै ८३ सांसदले हस्ताक्षर गरेका छन् । अध्यादेश जारी भएपछि अध्यक्ष पुष्पकमल दहाल र ओलीबीचको छलफलले अध्यादेश फिर्ता गर्ने सहमति गरेको थियो ।

बिहिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता गर्नेबारेमा कुनै छलफल नगरेपछि दहाल–नेपाल पक्ष झनै सशंकित भएको छ ।