म कहिले काँही अफिसमा तनावमा हुन्छु । धेरै कामको बोझले कहिलेकाँही वाक्क दिक्क नी लाग्ने गर्छ । मेरो शाखा मा एकजना अधिकृत कर्मचारी हुनुहुन्छ उहाँ सधैं फ्रेश, सधैं खुशी, सधैं हँसिलो र असाध्यै काममा लगाव राख्नु हुन्छ । म यो अफिस मा आएको छ महिना पनि बित्यो । सधैं उहाँलाई उत्तिकै लगनशील देखेर अफिसमा एकदिन सोधे रचना जी तपाईंलाई घरको काम भन्दा नी प्यारो छ नि यो अफिस । हामी सवै तपाईं जत्तिको हुनसके नतिजा अब्बल हुन्थ्यो होला । हामी कर्मचारीको पुरानो विरासत फर्किन्थ्यो होला ।
म बिहान अक्सर दूध, तरकारी र फलफूल लिन नजिकको चोकमा जाने गर्छु ।अफिस चाँडै हिड्नु पर्ने नभए काठमाडौंको जामले बाटो मै साढे दस हुने भएकोले बिहान मर्निङ्ग वाक् बाट आउँदै सबेरै समान नि किनेर फर्कन्छु । प्राय सधैं एउटी महिला समान किन्न सगै भेटिन्छिन् ।मलाई परै देख्नेबित्तिकै नमस्कार गर्छिन् । म नचिनी नचिनी नमस्ते फर्काउँछु आफ्नु किनमेलमा लाग्छु । झण्डै छ महिना भयो होला उनको नमस्ते खाएको तर बोलेको छैन ।
शुक्रबारको दिन अफिसको काम पनि चाँडै सकियो। मैले सवै स्टाफलाई मेरै चाम्बरमा बोलाएँ ।भलाकुसारी गर्दै पारिवारिक र व्यक्तिगत जीवनका कुरा गर्दै खाजा र चिया खान थाल्यौ । सवैले माक्स फुकालेकोले एक अर्कालाई राम्ररी हेरेर हाँस्यौ ! कुरै कुरामा रचना जीले सर एउटा कुरा सोधौँ भन्नु भो । हुन्छ नी भने ।
सर हजुर अफिसमा सवैको अभिभावक हुनुहुन्छ। मलाई त आफ्नै बहिनी जस्तो गर्नुहुन्छ । सुख दुःख सवैलाई सोध्नु हुन्छ। तनाव लिन दिनुहुन्न । व्यक्तिगत समस्या पनि बुझ्नु हुन्छ ।सानो ठूलो गर्नु हुन्न । तर मसँग बिहान सधैं किन बोल्नु हुन्न ? मैले छक्क पर्दै सोधे तपाईंसँग कहिले बिहान भेट भो र ? सर पनि दिनदिनै दूध,तरकारी किन्दा क्या त !
ओहो! रचना त्यो माक्स लगाएर नमस्ते गर्दै सधैं आउने केटी तिमी नै हौ?
.…........... कोविड
प्रेम लुइटेल "प्रेमी"
२०७७ पौष