सर्लाही : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्नुको साटो प्रधानमन्त्री केपी शर्मा ओलीले अपहरण गरेको आरोप लगाएका छन् ।
बुधबार सर्लाहीको लालबन्दीमा नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले १० वर्ष लगाएर बनाएको संविधानलाई प्रधानमन्त्री ओलीले अपहरण गरेकाले अदालतले संविधानको संरक्षण गर्ने बताए ।
प्रधानमन्त्री ओलीको गतल कमदलाई सच्याएर अदालतले ठिक ठाउँमा ल्याउने र प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा निर्णय गर्ने थापाले बताए । न्यायालय र न्यायाधीशहरूलाई विभिन्न बहानामा धम्काउने काम तत्काल बन्द गर्न प्रधानमन्त्री ओलीलाई नेता थापाले चेतावनी दिए ।
प्रधानमन्त्री ओली सङ्घीयता पक्षधर नभएकाले जुनसुकै बेला पनि प्रदेश, पालिका र संविधान खारेज गर्न सक्ने भएकाले सजग भएर बस्न उनले कार्यकर्तालाई आह्वान समेत गरे ।




















