✍️ राधाकृष्ण देउजा 

नामको छोटकरी गर्दा कृष्ण प्रसाद भट्टराईलाइ पनि केपी हुन्छ जसरि प्रधानमन्त्री खडग प्रसाद ओलीलाइ केपी ओली भनिन्छ । वहाँहरु दुवैको विचमा कतिपय समानता पनि छन जस्तै कि दुवै जना प्रजातन्त्र प्राप्तिको आन्दोलन गर्दै गर्दा १४ बर्ष जेल बसेको , राजनीति सम्हाल्दा सम्हाल्दै भट्टराईले गृहस्थी बसाल्न सक्नु भएन भने ओलीले पनि बेलैमा घरजम गर्न पाउनु भएन जसको अव्यक्त पिडालाइ केवल महशुस मात्रै गर्न सकिन्छ ।

अनि वहाँहरु दुवै निर्वाचन अगाडी भावी प्रधानमन्त्रीको रुपमा प्रचारित भएर पार्टीले विजय हासिल गरेपछि पार्टीको तर्फबाट प्रधानमन्त्री बन्न सफल , त्यति मात्रै नभएर केहि ढिला र चांडो मात्रै हो दुवै आफ्नै पार्टी भित्रको सन्तुलन कायम गर्न असमर्थ भएर सरकार रुपी डुंगा हल्लिएको अवस्था सामना गर्न वाध्य । यतिसम्म समानताको कुरा गरिरहँदा दुवै अति सम्मान योग्य नेताहरु तर प्रधानमन्त्री भएर सरकारमा पठाउने पार्टी भित्र सन्तुलन मिलाउन नसक्दाको परिणामलाइ सामना गर्ने विषयमा चालिएका कदमले भने वहाँहरुलाइ तुलनानै गर्न नसकिने पात्र बनायो ।

52874871-2337419116308667-526527368030846976-n
लेखक : राधाकृष्ण देउजा

इतिहास साक्षि छ पुरा कार्यकाल कृष्ण प्रसाद भट्टराइलाइ प्रधानमन्त्री बनाउन भनेर निर्वाचन लडेको तत्कालिन काँग्रेसले कृष्ण प्रसाद भट्टराईलाइ नौ महिनामा थाल खाउँ कि भात खाउँ बनायो भने आधा समय आफु प्रधानमन्त्री अनि अर्को आधा कार्यकाल प्रचण्डलाइ प्रधानमन्त्री बनाउने कवुल गर्नु हुने केपी ओलीलाइ नेकपाले आधा हैन पुरै कार्यकाल चलाउनुस भन्यो । तर जव पार्टी भित्रको असली समस्याले गाँज्यो कृष्णप्रसाद भट्टराईले प्रधानमन्त्री पद त्यागिदिनु भयो , संसद विगठन गर्न सक्ने अधिकार थियो वहाँसंग तर वहाँले त्यसो गर्नु भएन जननिर्वाचित संसदलाइ अकाल विगठन गर्नु भन्दा आफैं छोडनु भयो अनि अर्को तर्फ पुरै कार्यकाल चलाउनुस भनेर पार्टीले निर्णय गरेको तथ्यलाइ नजरअन्दाज गरेर अनेकन बखेडा गर्दै केपी ओलीले मैले छोडनु परे सवै सक्दिन्छु भन्ने शैलीमा संविधान बमोजिम आफुसंग अधिकार नभए पनि संसद विगठन गर्नु भयो ।

भनिन्छ नि कोहि हारेर पनि जित्छन अनि कोहि जितेर पनि हार्छन , लोकतान्त्रिक आन्दोलनमा केहि समानता सहित सम्मान योग्य इतिहास बनाएका दुइजना केपी ( कृष्ण प्रसाद र खडग प्रसाद ) मध्य एकले इतिहासमा प्रधानमन्त्री त्यागेर पनि व्यवस्था र आफुले वकालत गर्ने गरेको लोकतान्त्रिक पद्दतिको रक्षा गरे भने अर्कोले आफ्नो दम्भ अनि सत्तामा टिकिरहने सोचले गर्दा वास्तवमा खतरामै नपरेको प्रधानमन्त्री पदलाइ केहि समयलाइ टिकाएं भन्ने काल्पनिक चिन्तनमा परेर आफ्नो गौरवपूर्ण इतिहासमै धब्बा लगाउनु भयो । सीधा भन्दा एउटा केपी ( स्वर्गीय कृष्ण प्रसाद भट्टराई ) ले हार्दा पनि जित्नु भयो अनि अर्का केपी ( खडग प्रसाद ओली ) ले जितें भन्ने ठान्नु भएको छ तर अकल्पनीय ढंगले हारेको सत्य महशुस गर्न सक्नु भएको छैन ।