काठमाडौं,७ चैत्र । नेकपा एमालेको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरुले संसदीय दलको बैठकबारे असहमति राखेका छन्। खनाल-नेपाल पक्षका ३८ जना सांसदले हस्ताक्षरसहित बालुवाटारमा भएको संसदीय दलको बैठकमा पेश गरेका हुन्।
संसदीय दलको कार्यालय सिंहदरवारमा जम्मा भएका नेपाल-खनाल पक्षका सांसदको पाँचबुँदे असहमति बैठकमा पेश गरेका हुन्। सांसदहरुको असहमति लिएर सांसदहरू जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डेलगायतका सांसद बालुवाटार पुगेका थिए। ‘पाँच बुँदे माग राख्दै ३८ जना सांसदले हस्ताक्षर गरेका छौं। प्रधानमन्त्रीको कदम असंवैधानिक भयो। यसमा हाम्रो आपत्ति छ,’ सांसद सुनुवारले भने।
बैठक विधिसम्वत नभएको, एमालेको नवौँ महाधिवेशनबाट पारित भएको विधानअनुसार सबै कामकारबाही अगाडि बढ्नुपर्ने, संसदीय दलको बैठक पनि सोही विधानले निर्देशित गरेअनुसार हुनुपर्ने, दलको विधानलाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि मात्रै संसदीय दलको बोर्ड गठन गर्ने प्रावधान मिचिएकोलगायतका विषयमा असहमति जाहेर गरिएको छ। ‘बालुवाटरको प्रधानमन्त्रीको निजी निवासको बैठक स्वीकार्य हुँदैन,’ सुनुवारले भने।
दलको बैठक संसदीय दलको कार्यालय वा संसद भवनमा आयोजना गर्नुपर्ने विषयमा पनि नेपाल-खनाल पक्षले उठाएको छ। अदालतको फैसालपछि ब्यूँतिएको एमालेको निर्वाचित कमिटीको बैठक हुनुपर्ने र केन्द्रदेखि स्थानीय तहसम्मै पुनर्स्थापित अवस्थाबाटै कामकारबाही गर्नुपर्ने गर्ने विषय स्पष्ट रुपमा राखेको उनले बताए।लोकपाटी बाट



