काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसदहरू प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएका छन्। प्रधानमन्त्री ओलीले दिउँसो तीन बजेका लागि बालुवाटारमा बैठक बोलाइएको छन्।

यसअघिको दलको बैठकमा उनीहरू सहभागी भएका थिएनन्। नेपाल पक्षका सांसद सुरेन्द्र पाण्डेले आज बस्ने दलको बैठकमा आफ्नो पक्षका सांसदहरू पनि सहभागी हुने जानकारी दिए। ‘आजको दलको बैठकमा हामी जान्छौ। अस्तिको बैठकमा भेला भएकाले जान सकेनौं,’ उनले भने।

बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका योजनाहरू पेस गर्न निर्देशन दिने बताइएको छ। यसबाहेक अन्य समसामयिक विषयमा समेत छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। उनले आजको बैठकका लागि तीनवटा एजेन्डा तय भएको बताए।

भट्टराईका अनुसार संसद् बैठक प्रभावकारी बनाउने, सांसदहरूलाई विकास निर्माणका योजनाहरू कसरी पेस गर्ने भन्ने तरिका सिकाउने र दललाई एक ढिक्का बनाउने विषय छलफलका एजेन्डा तय भएका छन्। संसदीय दलको बैठक अघि नेपाल पक्षका सांसदको छुट्टै छलफलको तयारीसमेत भइरहेको सांसद सोमप्रसाद पाण्डेले बताए।

‘बैठकमा सबै जना जाने कुरा भएको छ’, पाण्डेले भने, ‘बैठकमा सहभागी हुने विषयमा यसअघि पनि कुराकानी भएको हो। तर त्यति बेला भेला भएकाले जान भ्याइएन। बैठकमा सहभागी हुने कुरालाई हामीले सामान्य ढङ्गले लिएका छौँ। तर बाहिर ठुलो विषय बनाइएको छ।’ पाण्डेले धेरैजसो दलका सदस्यहरूको बैठक सिंहदरबारमा गरेको भए हुने भन्ने मत रहेको बताए।

‘चैत ५ गते कार्यकर्ता भेला भएकाले गइएन। त्यसपछिको ७ गते नेताहरूले विधि पद्धतिको कुरा गरेकै कारण गइएन, त्यति बेला माग पत्र लैजाने र बैठक बालुवाटार बाहिर गर्नुपर्छ भन्ने कतिपय नेताहरूको चाहना थियो’, पाण्डेले भने, ‘कोही नेताहरू अझै स्पष्टीकरण लेख्दै हुनुहोला। कतिपयले बुझाउन जानुहोला।’

नेपाल पक्षका स्थायी समिति सदस्यसमेत रहेका सांसद योगेश भट्टराईले पनि बालुवाटारको बैठकमा आफूहरू सहभागी हुने बताएका छन्। सर्वोच्च अदालतको फैसलासँगै नेकपा एमाले ब्यूँतिएपनि पार्टी अध्यक्ष केपी ओलीले एकलौटी ढंगले विधान संशोधन गरेपछि यो पक्ष चिढिएको थियो। लगत्तै चैत ७ गते नेपालसहित ४ नेतालाई कारबाही प्रक्रिया अगाडि बढाउने उद्देश्यले स्पष्टीकरण सोधिएपछि उनीहरू झनै आक्रोशित छन्।

फागुन २८ गतेको निर्णय खारेज नभएसम्म ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय नेपाल-खनाल समूहले गरेको छ। यता, नेपाल-खनाल पक्षले पनि आजै केन्द्रीय कमिटी बैठक बोलाएको छ। बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विधानअनुरूप काम गर्न र विधानभित्र रहेर पार्टी बैठकहरू सञ्चालन गर्न सामूहिक दबाब दिने तयारी छ। लोकपाटी बाट