बिराटनगर१३ चैत्र । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । फरक पार्टी र गुट बदलेर आएका ६ जनालाई मन्त्री तथा राज्यमन्त्री बनाएका हुन् । उनीहरुले सुक्रबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेका छन् ।
नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका टंक आङबुहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । उक्त मन्त्रालय यसअघि माओवादी केन्द्रकै नेता इन्द्रबहादुर आङबोले सम्हालेका थिए ।
साबिकको नेकपामा विवाद देखिएपछि आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन खोजेको भन्दै मुख्यमन्त्री राई आङबोलाई पदमुक्त गरेका थिए । गत पुुसमा साबिकको नेकपाको केन्द्रको विवाद प्रदेश सरकारमा पनि देखिएपछि तीन मन्त्रीले राजीनामा दिएका थिए ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित सोही मन्त्रालयका राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका थिए ।
मन्त्री बन्नेहरुमा साबिकको नेकपाको विवादमा प्रचण्ड–माधव समूह छाडेर ओलीतिर लागेका र एमाले ब्युँतिएपछि माओवादी केन्द्र छाडेर आएका नेता छन् ।
नेपाल समूह छाडेर ओलीतिर लागेकी प्रदेशसभा सदस्य उषाकला राईले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन् । यस्तै, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानालाई मन्त्री बनाइएको छ । उनी पनि नेपाल समूहका हुन् । पछि राईलाई सहयोग गरेका थिए ।
भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङलाई पनि मन्त्रीको जिम्मेवारी दिइएको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर नाम फिर्ता लिएकी उदयपुरकी सांसद् कला घलेलाई कृषि राज्यमन्त्री र नेपाल समूह छाडेर ओली समूहतिर आएका मोरङका राजकुमार ओझालाई वन तथा वातावरण राज्यमन्त्रीको बनाइएको छ । नव नियुक्त राज्यमन्त्री ओझाले संसदीय दलको नेता चयन गर्दाको समयमै गुट परिवर्तन गरेका थिए ।पर्दाफास बाट




















