काठमाडौं। पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नेकपा एमालेबाट ६ महिनाका लागि निलम्बन गर्ने कारबाही सुनाएपछि एमाले उपमहासचिव घनश्याम भुसालले त्यसबारे तत्काल प्रतिक्रिया जनाएका छन्।

‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ, ‘म बस्न नपाउने कुर्ची भाँचीदिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो,’ भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ।’

भुसालले ओलीको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर लोकतन्त्र र वामपन्थको ऋण तिर्ने दाबी गरेका छन्। ‘मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु,’ उनले भनेका छन्।

ओलीले आज बिहीबार एक पत्र पठाई भुसाल र पार्टीका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई एमाले सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेको जानकारी दिएका छन्।

उनले लेखेका छन:

असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु ।
उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँला/गर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु ।