काठमाडौं, २४ चैत्र । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली गुटमा ‘त्वम शरणम’ गर्ने व्यक्तिहरु मात्रै रहेको आरोप लगाएका छन्। एमाले बागमती प्रदेश कमिटीको बैठकमा बोल्ने क्रममा नेता नेपालले ओलीले पार्टीको सर्वाधिकार आफूमा खिचेको बताए। उनको समूहमा रहने व्यक्तिहरु ओलीको शरणमा परेको आरोप लगाए।
निर्वाचन आयोगले पार्टीको वैधानिकता कदाचित ओलीलाई दिएको अवस्थामा विचलित नहुन कार्यकर्तालाई उनले ढाडस दिए। उनले भने,‘बीच मचधारमा छाड्दैनौं। लक्ष्यमा पुर्याएर छाड्छौं। दृढतापूर्वक होमिएका छौं।’ नेता नेपालले ओलीले पार्टी र आन्दोलनमाथि कुठाराघात गरेको पनि बताए। उनले ओलीको कुठाराघातका कारण कम्युनिष्ट आन्दोलनबाट कार्यकर्ता भाग्ने हुन् कि भन्ने चिन्ता लागेको बताए।
नेता नेपालले पार्टी जोगाउन आफूहरूले समानान्तर कमिटी घोषणा गरेको बताए। ‘ओली व्यक्तिवादी छन्। उहाँ आदेशमा विश्वास गर्नुहुन्छ,’ उनले भने, ‘हुकुमी पाराले चलाउनुहुन्छ।’ उनले महिला संघ, युवा संघ, अखिल, खेलकुद महासंघ, उत्पीडित जातीय मुक्ति समाजलगायत जनवर्गीय संगठनको केन्द्रीय कमिटी गठन भइसकेको र जिल्ला तथा प्रदेशमा पनि कमिटी गठन जारी रहेको बताए।
उनले जिल्लाभन्दा तलका तहमा पनि कमिटी बनाउने बताए। नेपालले भने, ‘अब हामी छिट्टै अन्तरपार्टी निर्देशन जारी गर्नेछौं। जिल्ला-जिल्लामा भेला गरिनेछ। निर्वाचन क्षेत्र कमिटी, वडा/वडा, टोल/टोलमा कमिटी संगठन बनाउँछौं।’ उनलेले ७७ मध्ये ४२ जिल्लामा आफूहरू बलियो भएको बताए। यसैकारण अध्यक्षसमेत रहेका केपी शर्मा ओली आत्तिएको तर्क उनले अगाडि सारेका छन्।लोकपाटी बाट


