काठमाडौं१९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
वैशाख ६ मा विपक्षी दलहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि हठात् प्रदेश सभा अधिवेशन अन्त्य गरेका मुख्यमन्त्री पोखरेलले प्रदेशसभाको विशेष अधिवेशन सुरू हुने दिन बिहानै राजीनामा बुझाएका हुन्। उनले एकल बहुमतीय सरकार बनाउने योजनाका साथ मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन्।
‘नयाँ प्रक्रियाको लागि राजीनामा दिएको हो,’ एमाले स्रोतले भन्यो, ‘पहिला संयुक्त सरकार थियो, एकल बहुमतको सरकार बनाउन राजीनामा दिइएको हो।’ उनले राजीनामा दिएसँगै अविश्वासको प्रस्ताव स्वतः निष्क्रिय हुनेछ।
लुम्बिनी प्रदेशसभाको कुल सदस्य संख्या ८७ हो। यसमध्ये जसपाका ४ र माओवादी केन्द्रका २ सांसद निलम्बित छन्। हाल कायम रहेको सदस्य संख्या ८१ मध्ये एमालेका मात्रै ४१ सांसद छन् जुन बहुमत संख्या हो। ‘सत्ता छोड्नलाई होइन, सत्ता झन् मजबुत बनाउन राजीनामा दिएको हो,’ स्रोतले भन्यो।
पोखरेलले प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई बुझाएको राजीनामा पत्रमा संविधानको धारा १६८ (१) अन्तर्गत नयाँ सरकार बनाउन मार्गप्रशस्त गर्न राजीनामा दिएको उल्लेख गरेका छन्। संविधानको उक्त धारामा ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुनेछ’ भन्ने उल्लेख छ।
मुख्यमन्त्री पोखरेलको यसअघिको सरकार संविधानको धारा १६८(२) अनुसारको संयुक्त सरकार थियो। यसको अर्थ पछिल्लो समय प्रदेश सभामा देखिएको अंकगणितलाई आधार मानेर मुख्यमन्त्री पोखरेलले आफ्नो नेतृत्वमा एकल सरकार बनाउन आइतबार राजीनामा दिएको देखिन्छ।लोकपाटी बाट


