काठमाडौं, २३ वैशाख । बालुवाटारमा नेकपा एमालेको बैठकमा पार्टीका वरिष्ठ नेता माधव नेपाल समूहको कारबाही फिर्ताबारे छलफल भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी कमिटी सदस्यहरुको बैठकमा नेपालसहित चार जनालाई गरिएको कारबाही फिर्ता लिनेबारे छलफल भएको हो ।

बिहीबार विहान अध्यक्ष ओलीले आकस्मिक बोलाएको स्थायी कमिटी बैठकमा कारबाही फिर्ता लिनेबारे छलफल भएको एक नेताले बताए ।

अध्यक्ष ओलीले पत्र लेख्दै पार्टीमा समानान्तर गतिविधि गरेको भन्दै वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिना पार्टीबाट निष्काशन गरेका थिए ।

शुरुमा स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नदिएको भन्दै ओलीले ६ महिना निष्काशन गरेका थिए । नेपाल र रावललाई १३ चैतमा कारबाहीको पत्र दिइएको थियो भने १६ चैतमा भुसाल र पाण्डेलाई कारबाहीको पत्र दिएका हुन् ।

ओलीले नेता नेपाल समूहका ३० सांसदलाई स्पष्टीकरण सोधेका छन् । २७ वैशाखमा विश्वासको मत लिन प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएकाले नेताहरुलाई थप कारबाही भन्दा यसअघि भएको कारबाही फिर्ता गर्नेबारे बिहीबार बालुवाटारमा आयोजित बैठकमा छलफल भएको एक नेताको भनाई छ ।

ती नेताका अनुसार आकस्मिक बैठकमा सहभागीहरुले भने तत्काल कारबाही गर्नु उचित नहुने, बरु सकारात्मक वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ । पाथिभरा न्युजबाट