काठमाडौं,२४ साउन । जनताका प्रतिनिधि जनताको काममा सधै व्यस्त रहने गर्छन् । तर धनुषाको बिदेह नगरपालिकाका मेयर कार्यकक्षमै जे गर्छन त्यसले सबै चकित छन् । उनले कार्यकक्षमै मसाज गराएको तस्विर अहिले सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेको छ । मेयर बेचन दासले कार्यालयभित्रै सोफामा सहयोगीबाट मसाज गराउँदै गरेको तस्विर भाइरल भइरहेको हो ।

भाइरल तस्विरमा बेचन कार्यालयको सोफामा आराम गरिरहेका छन् भने कार्यालय सहयोगी करण दासले खुट्टामा मसाज गरिरहेका छन् । कोठाभित्र मसाज गराएको तस्विर झ्यालबाट लिइएको हो । उनै व्यक्तिले सो तस्विर सामाजिक सञ्जालमा राखिदिएको जनाइएको छ । उक्त तस्विर भाइरल भएपछि मेयर बेचनको आलोचना हुँदैछ ।

मेयर बेचनले भने आफू बिरामी भएपछि कार्यकक्षमै मसाज गराएको प्रतिकृया दिनु भएको छ । उहाँका अनुसार घटना अहिलेको नभई जेठ महीनाको हो । जेठ महीनामा दोस्रो खोप लिँदा कार्यालयमै अर्धचेतजस्तो भएपछि सम्बन्धले भाइ पर्ने करणलाई मसाज गरिदिन आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।

एक्कासी अर्धचेत जस्तै भएको र शरीर पनि काप्न थालेको अवस्थामा मसाज गर्न लगाएको उहाँको तर्क रहेको छ । उक्त कुरालाई सामान्य रुपमा लिनुपर्ने बताउनुहुन्छ । सामान्य कुरालाई अतिरञ्जित गरिएको उहाँको बुझाई रहेको छ ।