धनगढी, १९ फागुन । प्रेस चौतारी नेपाल, कैलालीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न सुरुमा धेरै रमिता देखाएर माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले अन्त्यमा सत्ताको लोभका अगाडि घुँडा टेकेको आरोप लगाएका छन् ।

माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले एमालेमाथि प्रहार गर्न खोजे पनि यो घटनाले उनीहरूकै पार्टीभित्र ठूलो खेलाबैला मच्चिएको महासचिव पोखरेलले बताए । एमालमाथि धेरै आरोप लगाइए पनि पार्टीले आफ्नो अडान नछोडेको समेत महासचिव पोखरेलले बताए । सत्ता र पदको लोभमा परेर नेताहरूले एमसीसी पास गरेको उनको आरोप छ ।

‘जुन सभामुखले एमसीसी टेबल गर्नु परे आत्महत्या गर्छु भनेका थिए तिनैले पछि एमसीसी टेबल मात्रै गरेनन्, पास समेत गराए,’ महासचिव पोखरेलले भने, ‘सत्ता र पदमाथि संकट आउने बित्तिकै उनीहरूको चारित्र छर्लङ्ग भयो ।’