काठमाडौं,२० फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा सम्बन्धित स्थानीय तहको कमिटीलाई नै दिइने बताएका छन् ।

शुक्रबार कास्कीको मादी गाँउपालिकामा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाट्न गर्दै महामन्त्री थापाले तालमेल गर्ने कि नगर्ने भन्ने विषय स्थानीय कमिटीकै भएको बताएका छन् ।

कांग्रेसले केन्द्रबाट तालमेलको निर्णय नगर्ने भन्दै उनले भने, तालमेल गर्ने कि नगर्ने हामी माथिबाट निर्णय गर्दैनौँ तपाईंहरूले निर्णय गर्ने हो । यहाँको टुंगो तपाईंहरू बसेर गर्नुस्, महानगरको टुंगो पनि तपाईंहरूले चाहेको जस्तो गरेर पठाउनुस् । यो पटक पोखराको नगरपालिकामा कांग्रेसको उम्मेदवार जित्नुपर्नेमा समेत उनले जोड दिएका छन् ।

काँग्रेसका नेता प्रदीप पौडेलले केन्द्रीय तहको निर्णयले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन नसक्ने बताएका छन् । नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ११औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ९ द्वारा आयोजित २ दिने प्रशिक्षक–प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।