रंगेली,२५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा रहेका तीन दलबारे विभिन्न टिप्पणी गरेका छन् । नेकपा एमाले माेरङले रंगेली नगरपालिकामा आयाेजना गरेकाे बृहत जनसभालाई सम्बाेधन अध्यक्ष ओलीले नेपाली कांग्रेस बाँझाे खेत जस्तै रहेकाे,माओवादी केन्द्र भ्रमकाे गाेलाे मात्र रहेकाे र माधव कुमार नेपालकाे पार्टी सानाे चाेइटाे मात्र भएकाे बताए ।

नेकपा एमाले भने जनताकाे पार्टी भएकाे उनकाे भनाइ छ । देश बनाउने विचार र नीति एमालेसँग मात्र भएकाले अबकाे चुनाव पनि एमालेले नै जित्ने उनले प्रष्ट पारे । नेकपा एमाले देश बनाउने र गरिबको पार्टी रहेकाे उनकाे भनाइ छ । सरकारमा छँदा एमालेले देश र जनताका लागि तथा विकास र समृद्धिका लागि अभूतपूर्व काम गरेकाे अध्यक्ष ओलीले बताए । जनताको आर्शिवाद नेकपा एमालेसँग रहेकाे भन्दै उनले अब पनि एमाले बलियाे भएमात्र देश विकास हुने बताए ।

एमाले अध्यक्ष ओलीले कांग्रेस सुख्खा परेको बाँझो खेत जस्तै रहेको बताए । कांग्रेसले देश, जनता र जेष्ठ नागरिकककाे पक्षमा काम गर्न नसकेकाे उनले बताए । एमाले विरुद्ध भ्रम फैलाएर जनता अल्मल्याउने काम कांग्रेसले गरेकाे बताउँदै उनले भने - 'त्यो जमाना गयो, अब जनता अलमलिने जमाना छैन, जनताले काे कस्ताे भनेर बुझिसके ।'

कांग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन खोजेपनि अब कांग्रेस नजोगिने अध्यक्ष ओलीले बताए । कांग्रेससँग देश बनाउने कुनै विचार नभएको बताउँदै उनले भने - 'काँग्रेससँग देश बनाउने, नीति पनि छैन, विचार पनि छैन,कांग्रेस एमालेको विरुद्धमा जान सक्दैन, अब कांग्रेसको पात मात्रै झरेको छैन, रुख नै सुकेको छ,कांग्रेस बुढाे भइसक्याे ।'

माधव नेपालकाे कुनै अस्तित्व नभएकाे भन्दै उनले एमाले चाेइटाएका माधवले सानाे तिनाे पार्टी बनाउन खाेजेकाे बताए । अध्यक्ष ओलीले प्रचण्डकाे पार्टी त पार्टी नभएर भ्रमकाे गाेलाे मात्र रहेकाे बताए । प्रचण्डकाे पार्टी कुनै पार्टी नभएर भ्रमकाे गाेलो रहेकाे बताउँदै उनले भने - 'प्रचण्डकाे पार्टी कुनै पार्टी हाेइन भ्रमकाे गाेलाे हाे,अन्याेलकाे गाेलाे हाे, त्यसलाई परित्याग गरी एमालेमा आउनुस्,हाम्राे देश बनाऔं,साझा देश बनाऔं ।'