काठमाडौं — संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधनको प्रशंसा गरेपछि नेकपा एमालेका नेता गोकुल बाँस्कोटाप्रति काभ्रे एमालेका नेता अशोक ब्याञ्जूले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्।

बाँस्कोटाले प्रधानमन्त्री बालेनको सम्बोधनलाई “दृढ, सार्थक र जोडदार” भएको बताएका थिए। उनले आफू राष्ट्रिय स्वतन्त्र पार्टीको नभए पनि प्रधानमन्त्रीले देशको भावना बोलेको भन्दै सार्वजनिक रूपमा समर्थन व्यक्त गरेका थिए।

यसपछि अशोक ब्याञ्जूले सामाजिक सञ्जालमा बाँस्कोटालाई लक्षित गर्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। उनले लेखेका छन्, “जसले चलाएको छ, उसको भक्तिमा बोल्ने ! यता बस्ने, उता सेवा गर्ने ! आफ्नोलाई निखार्ने, अरूलाई तिखार्नेहरूको महान वाणी सुनेँ, हेरेँ र देखेँ, जय होस्।”

बाँस्कोटा र ब्याञ्जू कुनै समय काभ्रे एमालेमा एउटै समूहमा रहे पनि पार्टीको ११औँ महाधिवेशनपछि उनीहरूबीच दूरी बढेको चर्चा हुँदै आएको छ। पछिल्लो पटक बालेनको राष्ट्रसङ्घ सम्बोधनप्रति बाँस्कोटाले गरेको समर्थनपछि सामाजिक सञ्जालमै उनीहरूबीच मतभेद सार्वजनिक भएको हो।

प्रधानमन्त्री बालेनले महासभामा नेपालले भोगिरहेको जलवायु परिवर्तनको असर, भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद् र विश्वव्यापी आपूर्ति असमानताबारे धारणा राखेका थिए। बाँस्कोटाको समर्थन र त्यसपछि आएको ब्याञ्जूको प्रतिक्रियाले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया जन्माएको छ।