काठमाडौं,२६ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास भएपछि आफूसहित १४ सांसद् र सभामुख अग्निप्रसाद सापकाेटाकाे पद जाेगिएकाे बताउनु भएकाे छ ।

बुधबार देखि सुरु पार्टीको केन्द्रीय कमिटी बैठकमा एमसीसीबारे लिखित दस्तावेज प्रस्तुत गर्दै अध्यक्ष नेपालले एमसीसी पारित नभएकाे भए आफूहरु र सभामुख अग्निप्रसाद सापकाेटाकाे पद धरापमा पर्ने उल्लेख गर्नुभएकाे छ ।

आफूहरुले पहल नगरेको भए एमसीसी सम्झौता प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित हुने दाबी पनि माधवले गर्नुभएकाे छ । 'यदि हामीले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसिसी कम्प्याक्ट जस्ताको तस्तै अनुमोदन हुने थियो र त्यसले देशलाई अफ्ठ्यारो अवस्थामा पुर्‍याउन सक्थ्यो'- उहाँले लेख्नुभएकाे छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच भएकाे वार्तापछि उपयुक्त निर्णयमा पुग्ने बुद्धिमता देखाउनै पर्ने बाध्यता आइलागेको अध्यक्ष नेपालले उल्लेख गर्नुभएकाे छ । एमसीसी पारित गर्नका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई तत्काल हटाउनुपर्ने, एकीकृत समाजवादीका १४ जना सांसद्लाई पदमुक्त गर्नुपर्ने, एकीकृत समाजवादीको दर्ता खारेजीका लागि आवश्यक कदम चाल्नुपर्ने लगायत शर्त प्रधानमन्त्री शेरबहाुदर देउवा समक्ष राख्नुभएकाे माधवकाे दाबी छ ।

एमसीसी पारित गराउन नेपाली कांग्रेसले पनि करिब-करिब सबै शर्तहरू मान्न तयार भइसकेकाे उल्लेख गर्दै उहाँले त्यसबीचमा आफूहरु गठबन्धन जाेगाउने विकल्पतिर लागेकाे उल्लेख गर्नुभएकाे छ । साेही अनुसार व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निर्णयमा आफूहरु पुगेकाे माधवले उल्लेख गर्नुभएकाे छ । 'यदि हामीले यसाे नगरेका भए नेपाली कांग्रेस र एमाले मिलेर पाँच दलीय गठबन्धनलाई ताेड्ने,सभामुखलाई पदबाट हटाउने र हाम्राे पार्टीका १४ सांसद्लाई कारबाही गर्ने गरी एमाले र कांग्रेस मिलेर एमसीसी जस्ताकाे तस्तै अनुमाेदन गर्ने थिए'-उहाँले लेख्नुभएकाे छ ।

केपी ओलीको षडयन्त्रलाई असफल बनाउँदै देशलाई दुर्घटनामा जानबाट रोक्न आफूहरु सफल भएको पनि माधवले दस्तावेजमा उल्लेख गर्नुभएकाे छ ।

हेर्नुस् पूर्णपाठ: