गाईघाट,२६ फागुन । नेकपा एमाले उदयपुरको वर्तमान गतिविधिले पार्टी निकै चलायमान बनेको छ । उदयपुर अन्तर्गत ७५ वडा मध्ये करिब दुई तिहाई वडामा टोल कमिटी गठन, तीनको भेला तथा बैठक सम्पन्न गरेको एमाले उदयपुर अहिले गाउँ केन्द्रित अभियानमा ब्यस्त छ ।

पार्टीको पहिलो पूर्ण बैठकबाट ‘म जिताउँछु मेरो वडा, हामी जिताउँछौँ हाम्रो पालिका’ नामक स्थानीय चुनाव केन्द्रित २ महिने अभियान सुरु गरेको एमाले उदयपुरले अहिले जिल्लाव्यापी पालिकाको भेला, प्रशिक्षण तथा विस्तारित बैठक सम्पन्न गरेको छ ।

‘चुनावमा मात्रै होइन, एमाले सधैँ जनताको बीचमा रहन्छ’

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि तत्कालिन नेकपाको पार्टीगत गतिविधि सुस्ताएको थियो । नेकपाकै निरन्तरताको दाबी गर्ने एमालेले अहिले भने गाउँ गाउँमा नेता कार्यकर्ता परिचालन गरेको छ ।

यसको पछाडी केवल चुनाव मात्रै नजोडिएको एमाले उदयपुर अध्यक्ष परमेश्वर घिमिरे बताउँछन् । स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिएकै कारण एमाले गाउँ केन्द्रित अभियानमा अब जिल्लाको मैनामैनी देखि मयन्खु,कोशी देखि कमला सम्म मम कोक अभियान सम्पन्न गर्ने अध्यक्ष घिमिरे बताउछन । नेकपा कालमा केन्द्रदेखि जिल्ला र गाउँ तहसम्म सुस्ताएको अभियानलाई अब तीव्रता दिनका लागि आफूहरु गाउँ केन्द्रित अभियानमा दौडिएको उनको भनाई छ ।

‘एमालेको अभियान सामाजिक रूपान्तरणको अभियान हो, यो निरन्तर चलिरहन्छ’ अध्यक्ष घिमिरेले भनेका छन्, ‘हामी चुनावमा मात्र जनताका बीचमा जाने होइन, जनताको बीचमा निरन्तर जाने छौँ, एमाले जनताकै बिचमा रहने छ ।’

‘युथ लिडर’–‘इनर्जेटिक’ कार्यकर्ता

नेकपा एमाले उदयपुरको नेतृत्वमा अहिले युवाको टिम छ । अध्यक्ष परमेश्वर घिमिरे, उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ सचिब कालुमान तामाङ, उपसचिव द्वय भरत थापा र टेक बहादुर राउत सबै युवा उमेरका हुन् । पदाधिकारी मात्रै होइन, जिल्ला कमिटी सदस्यमा पनि युवाहरुकै बाहुल्यता छ ।

जिल्ला नेतृत्व र जिल्ला कमिटी सदस्य मात्रै पनि नभई, नगर तथा गाउँपालिका कमिटीमा पनि युवाहरुकै नेतृत्व छ । अहिले एमालेले गाउँ गाउँमा गएर सभा, भेला, प्रशिक्षण तथा बैठक गर्नुमा केवल नेतृत्व मात्रै नभई कार्यकर्ताको भूमीका अझ बढी रहेको एमाले उदयपुरका प्रचार विभाग प्रमुखसमेत रहेका सचिव कालुमान लामा बताउँछन् ।

‘हामी गाउँ गाउँमा पुग्ने अभियानमा जसरी सरिक भयौँ, यो सबै कार्यकर्ताको देन हो, हामीले योजना बनाउँदा पनि सबै जनवर्गीय संगठनका नेता कार्यकर्ताको भावना अनुसार बनाएका हौँ’ उनी भन्छन्, ‘नेकपा एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो, यसका सबै नेता कार्यकर्ता सबल छन् । एमाले उदयपुरको कुरा गर्दा यहाँको नेतृत्व र नेतृत्वमा रहेको टिम युवा मात्रै होइन, हाम्रा सबै नेता कार्यकर्ता अब्बल, इमानदार र इनर्जेटिक छन् । अहिलेको गाउँ केन्द्रित अभियान पनि यसकै उपज हो ।’