काठमाडौं,९ चैत । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ । बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । त्यसपछि प्रतिवेदनमाथि छलफल हुने शाक्यले जानकारी दिइन् ।

बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेस गर्ने छन् ।

बैठक भोलिसम्म जारी रहने छ । यसअघि सोमबार पोलिटब्युरो बैठक र त्यसअघि सचिवालय बैठक बसेको थियो ।

तराई ठगी खाने भाँडो बन्यो : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई विभिन्न बहानामा ठगी खाने भाँडो भएको टिप्पणी गर्नुभएको छ ।

मंगलबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तराई मधेसका मुद्दाका नाममा कतिपयले जनतालाई ठग्ने गरेको आरोप लगाउनुभएको हो ।

अध्यक्ष ओलीले तराई मधेसमा एमालेविरुद्ध फैलाइएको भ्रम निवारण भएको बताउँदै मधेसको विकासमा आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको दावी गर्दै भन्नुभयो, मधेसमा द्धन्द्ध उद्योग स्थापना गरिएपनि त्यो सफल हुन पाएन ।