काठमाडाैं,९ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन मिलेर चुनाव लडेमात्र नेकपा एमालेलाई पराजित गर्न सकिने बताउनु भएकाे छ ।

काठमाडाैंमा बुधबार आयाेजित पार्टीको वाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बाेल्दै अध्यक्ष नेपालले एमालेलाई हराउनका लागि गठबन्धनबीच चुनावी तालमेल हुनैपर्ने बताउनुभयाे । 'हामी सबै मिलेर अगाडि बढ्ने हो भने ओलीको पार्टीलाई धुलिसात पार्न सक्छौं, ओलीकाे घमण्डलाई चकनाचुर पार्न कांग्रेस पनि सहमत छ,चुनावपछि ओलीकाे घमण्ड समाप्त हुन्छ' -उहाँले भन्नुभयाे ।

यद्यपि गठबन्धन गर्न पनि पहिला आफू बलियाे हुनुपर्ने भन्दै उहाँले अरुकाे सहारामा चुनाव जित्छाैं भन्ने कुरा नसाेच्न नेता-कार्यकर्तालाई आग्रह गर्नुभयाे । अध्यक्ष नेपालले आफूहरु कमजाेर रहेकाे प्रष्ट संकेत गर्नुभयाे । 'आफ्नो शक्ति बलियो भयो भने मात्र अरूसँगको तालमेलको कुनै अर्थ रहन्छ, अरूको सहारामा चुनाव जित्ने कुरा नसोच्नुहोस्, हाम्रो शक्तिको जगमा उभिएर नै अरूको सहयोग लिएर जित्ने कुरा सोच्न सकिन्छ, स्थिति कमजोर छ भने अनावश्यक रूपमा दाबी गर्ने काम पनि गर्नु हुँदैन'- नेपालले भन्नुभयाे ।

एमाले अध्यक्ष ओलीको विचारमा क्रान्तिकारिता नभएको भन्दै उहाँले दक्षिणपन्थी अवसरवादसँग ओलीकाे साँढगाँढ रहेकाे आरोप लगाउनुभयाे । 'केपी ओलीको विचारमा क्रान्तिकारी ओज छैन । सिद्धान्तप्रति निष्ठा छैन, उनी दक्षिणपन्थिसँगको साँठगाँठ र विदेशीको आडमा फुरफुर गरिरहेका छन्'- माधवकाे आराेप छ ।

केपी ओली एक नम्बरकाे गफाडी नेता रहेकाे आराेप पनि नेपालले लगाउनुभयाे । आफ्नो पार्टीमा रहेका मन्त्रीद्वय प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको कुरा झुटो भएको उहाँले दाबी गर्नुभयो । उओलीका साइबर सेनाहरूले झुटो प्रचार गर्दा आफ्नो र पार्टीका नेताहरूको निद्रा खराब भएको बताउनुभयो ।

केपी ओलीले जस्तै दाउपेच गर्न आफूहरु पनि सिपालु रहेकाे बताउँदै उहाँले भन्नुभयाे - '४० प्रतिशत भनेर कुरेर बसिरहेका थिए, हामीले पनि घटाएर २० प्रतिशतमा झारिदियौँ, उनले मात्रै जानेका छन् दाउपेच ? हामीले पनि दाउपेच गर्‍यौँ २० प्रतिशतमा झारेर, अध्यादेश ल्याएर निर्वाचन आयोगमा दर्ता गरेर यो पार्टी बनायौँ ।'