काठमाडाैं,१२ चैत । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापि शेरबहादुर देउवाले नेकपा एमाले धेरै बलियाे रहेकाे बताउनु भएकाे छ ।

बीपी स्मृती सामुदायिक सहकारी अस्पतालको १४ औं बार्षिक साधारसभा उद्घाटन कार्यक्रमलाई शनिबार सम्बाेधन गर्दै प्रधानमन्त्री देउवाले शेरबहादुर देउवाले एमाले धेरै बलियाे रहेकाले गठबन्धन नगरी चुनाव जित्न नसकिने बताउनुभयाे । 'ओली कमजोर छ भन्ने झुटा कुरा हो,ओलीजीकाे पार्टी धेरै बलियाे छ'-उहाँले भन्नुभयाे ।

कांग्रेसले गठबन्धन नगरे एमाले र माओवादी केन्द्र मिल्ने सम्भावना रहेको भन्दै प्रधानमन्त्री देउवाले चिन्ता व्यक्त गर्नुभयाे । उहाँले भन्नुभयाे - 'माओवादी-एमाले फुटेकाले हामी जितिहाल्छौं भन्ने आस नगरेर हुन्छ, प्रचण्ड हार्न चुनाव लड्छन् ? मिल्दिन्छ नि जहाँ जितिन्छ त्यहीँ ? जहाँ सजिलो हुन्छ त्यहिँ मिलिदिन्छन् नि, त्याे पनि बुझ्नुपर्‍याे नि, हामीले लखेटेको लखेट्यै गर्यो भने कहाँ जान्छन् त ?'

कांग्रेसलाई बलियो बनाउन र कम्युनिष्ट मिल्न नदिन गठबन्धन आवश्यक रहेकाे उहाँकाे भनाइ छ । पार्टीलाई बलियाे बनाउनकै लागि गठबन्धन गर्नुपर्ने कुरा आफूले राखेकाे भन्दै उहाँले गठबन्धनको कुरा गरेर आफूले केही नबिगारेको र पार्टीको हितका लागि नै काम गरेको दाबी गर्नुभयो ।

देउवाले भन्नुभयाे - 'पहिला हामी हारेको हो कि होइन ? शेखरजी हारेको होइन ? सबै साथी जितुन् भन्दा मै बदमास ? मैले के बिगारेको छु र ? पार्टी नहारोस् भन्ने मेरो चिन्ता हो, हामी सबै मिलेर पार्टीलाई बलियो बनाऔं ।'

नेपालमा कम्युनिष्टको धेरै ठूलो संख्या रहेकाले पनि गठबन्धन आवश्यक रहेकाे उहाँले बताउनुभयाे । स्थानीय तहमा कांग्रेस भन्दा धेरै एमाले र माओवादीले जितेका उहाँले स्मरण गर्नुभयाे । विगतमा सबैतिर कम्युनिष्टले जितेका भन्दै उहाँले अब कांग्रेसलाई जिताउन गठबन्धन चाहिने उहाँले प्रष्ट पार्नुभयाे ।

बीपी र सुवणर्समशेर देखि नै पार्टी भित्र गुट रहेको भन्दै उहाँले तत्काल पार्टीको गुट अन्त्य हुन नसक्ने समेत बताउनुभयाे । प्रतिनिधि सभा बिघटन गर्दा नै आफू चूनावको पक्षमा रहेपनि प्रतिनिधि सभा पुर्नस्थापनापछि सबैको सहयोगमा प्रधानमन्त्री बन्नु गलत नभएको पनि देउवाले बताउनुभयो ।

पार्टीलाई कमजोर बनाउन नहुने सुझावलाई सकारात्मक रुपमा लिएको भन्दै उहाँले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता जनाउनुभयाे । प्रधानमन्त्री देउवाले मुलुकको व्यापार घाटा आफ्नो कारणले नभएको पनि बताउनुभयाे । उहाँले एमसीसीका कारण व्यापार घाटा कम हुने दाबी पनि गर्नुभयो ।