बराहक्षेत्र,१३ चैत । आगामी स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सुनसरीको बराहक्षेत्र नगरपालिकाका नेताहरुमा सगर्मी सुरु भइसकेको छ । ०७४ सालको स्थानीय चुनावमा जित हासिल गरेको नेकपा एमाले यसपटक पुन: आफ्नो विरासत बचाउने प्रयत्नमा देखिएको छ ।
अघिल्लो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निलम खनालले १४ हजार ४ सय ४६ मत ल्याएर विजयी भएका थिए भने नेपाली कांग्रेसका उम्मेदवार बाबुराम बिष्टले ११ हजार ४ सय ८९ मत प्राप्त गर्दै पराजित भएका थिए । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार कमल बहादुर कट्वालले २ हजार ७ सय ३८ मत पाएका थिए । यसलाई नियाल्दा यसपटक नेपाली कांग्रेसको चुनावी तालमेल नभए एमालेलाई सहज हुने अवस्था देखिन्छ ।
को को हुन् त एमालेबाट मेयरका आकांक्षी ?
निलम खनाल
नेकपा एमाले सुनसरी जिल्ला उपाध्यक्ष निलम खनाल बराहक्षेत्र नगरपालिकाका प्रथम मेयर हुन् । नेकपा एमाले बराहक्षेत्रभित्र सशक्त उमेदवारको रूपमा चर्चा हुने गरेका खनाल पुनः नगरपालिकाको मेयरमा उठ्ने दाउमा छन् । पुनः मेयरको टिकटका लागि उनले आफ्ना सबै खालका पावर पार्टीको उपल्लो तहमा लगाईसकेको एमाले जिल्ला स्रोतको भनाइ छ ।
बद्रीनाथ घिमिरे
साविक महेन्द्रनगर गाविसका पूर्व अध्यक्ष बद्रीनाथ घिमिरे एमालेभित्र इमानदार नेताको छवि भएका नेता हुन् । गत स्थानीय चुनावमा समेत आफूलाई उमेम्द्वारका रूपमा प्रस्तुत गर्न चाहेका नेता घिमिरे यसपटक भने पार्टीले आफ्नो मूल्यांकन गर्नुपर्ने अडानमा छन् । पार्टीभित्र प्रदेश सदस्य र सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ इन्चार्ज समेत रहेका नेता घिमिरे मदन भण्डारी फाउन्डेसन, बराहक्षेत्र अध्यक्ष पनि हुन् ।
योग्यराज खड्का
पार्टीको भूमिगतकाल देखिनै बाम राजनीतिमा सकृय थिए विद्यार्थी राजनीति गर्दा उनी अनेरास्ववियु सुनसरी जिल्ला कमिटी अध्यक्ष र एक कार्यकाल भरौलको उपाध्यक्ष समेत भएका खडका कानुन विषयको विद्यार्थी पनि हुन् । हाल उनी नेकपा एमाले सुनसरी जिल्ला कमिटीका उप सचिवको जिम्मेवारीमा छन्।
सीता भण्डारी(पौडेल )
विभिन्न सामाजिक संघ सस्था जिम्मेवारी सम्हाल्दै आएकी सीता भण्डारी (पौडेल) मेयरको आकांक्षी रहेकी छिन् । नेकपा एमाले बराहक्षेत्र नगरकमिटी उपाध्यक्ष साथै चतरा बहुदेश्य सहकारीको अध्यक्ष समेत रहेकी जुझारु महिला नेतृको रुपमा पहिचान बनाई सकेकी छिन्। बराहक्षेत्रबासीको जनप्रिय नेता तत्कालीन बराहक्षेत्र गाविसको अध्यक्ष दल बहादुर पौडेलको श्रीमती समेत हुन् । श्रीमानको अल्पायुमै देहवासन भए पछी उनी सक्रिय राजनीति तथा समाज सेवामा होमिएकी उनलाई पार्टीले अवसर दिनु पर्नेमा स्थानीय कार्यकर्ताहरुको भनाइ रहेको छ ।
राजेन्द्र कार्की
पछिल्लो समय पार्टीभित्र युवा पुस्तालाई समेट्न सिपालु नेताका रूपमा आफूलाई प्रस्तुत गर्दै आएका राजेन्द्र कार्की यसपटक बराहक्षेत्र नगरको मेयरमा आकांक्षी रहेको बताउँछन्। नेता कार्की एमाले बराहक्षेत्रका सचिव हुन् । पार्टीका युवा पङ्तिमा र केन्द्रीय नेतृत्वको नजरमा समेत भिजनरी र प्रभावशाली छवि बनाएका कार्कीलाई नेतृत्वको रुपमा हेरिन्छ र भावी सुनसरी नेतृत्व समेत सम्हाल्ने बिश्वास दिलाएर सुनसरी पठाइएको स्थानीय युवा नेता अरुण राईले बताए ।
६२/६३को आन्दोलनमा मोरङबाट कुसलतापूर्वक नेतृत्व गरेकै समयदेखि पार्टीको वर्तमान केन्द्रीय तहको नेतृत्वले विश्वास गरेको पाइन्छ। नेता कार्की २०७२ सालमा महेश बस्नेत उधोगमन्त्री भएको समयमा नेपालको पुरानो र पहिलो उद्योग बिराटनगर जुटमिलको जीएम भइसकेका छन । उनी सगका राजनैतिक सहकर्मी काङ्रेस नेता भिम पराजुली बिराटनगर महानगरको मेयर छन भने शिवकुमार मण्डल पहिलेनै मन्त्री समेत भैसकेका छन ।
पार्टी भित्र इमान्दार छवि र बाैद्विक व्यक्तित्वको रुपमा छाप छोडेका कार्की गाउँ छिर्ने बित्तिकै स्थानीय नेताहरुले महत्वका साथ हेरेको कुरा स्थानीय अगुवाहरु बताउँछन । समकालीन विद्यार्थी राजनीतिमा दुईवटा बिषमा एकदशक भन्दा अघिनै स्नातकोत्तर गरि राम्रो शैक्षिक हैसियत बनाउन सफल व्यक्ति हुन उनका समकक्षी कसैले कार्की जत्तिको शैक्षिक योग्यता हासिल गर्न सफल भएका छैनन् तथापि राजनैतिक जिम्मेवारीमा भने त्यति धेरै महत्वाकांक्षा नराखेका कारण खासै उपलब्धि हासिल गर्न सफल छैनन् त्यसैले अहिलेको परिस्थितिमा आफूलाई जोड्तोडका साथ नलाग्ने भनेर नदिने समय रहेछ भन्ने कुरा बुझेर आफ्नो दाबी पेश गर्ने बताउँछन र आफ्नो स्नातकोत्तरको बिषय नै ग्रामीण विकास पनि भएको हुँदा विकाशको मोडेलको विषयमा जानकार रहेको उनको दाबी छ।
डिबि शाहशंकर
नेकपा एमालेको केन्द्रिय लेखा आयोग सदस्य डिबी शाहशंकरको नाम पछिल्लो केही समययता चर्चामा रहेको छ । योग्यता र सक्षमताको आधारमा पार्टीले मूल्यांकन गर्दैगर्दा शाहशंकरको नाम पनि छुटाउनै नहुने नाम भएको एमाले निकट नेताहरू नै बताउँछन् ।
राजु अधिकारी
बराहक्षेत्र नगरपालिका ५ का वर्तमान वडा अध्यक्ष नेता अधिकारी पार्टीभित्र विद्रोही नेताका रूपमा चिनिन्छन् । पार्टीभित्र विधि र विधान अनुसार मूल्यांकन हुनेपर्ने माग गर्ने नेता अधिकारी गलत क्रियाकलाप विरुद्ध सधै आवाज बुलन्द गर्ने गर्दछन् । हुन त यसपटकको स्थानीय चुनावमा पुनः ५ नम्बर वडाकै अध्यक्षका रूपमा उनको नाम चर्चामा नआएको भने होईन् । यद्यपि उनलाई स्थानीय जनताहरुले मेयरको आकांक्षी रहेको भन्ने कुराको चर्चा गर्न थालेका छन् ।


