काठमाडौं,१४ चैत । स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने–नगर्ने विषयमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसमा एकमत छैन । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन गर्नुपर्ने पक्षमा छन् ।
अझ भन्दा उनी गठबन्धन गरी छाड्ने अडानमा छन् । गठबन्धन नगरे कांग्रेस देशभरिबाट फेरि बढारिने र ती सबै सिट एमालेले कब्जा जमाउने त्रास बोकेर देउवा बाँचेका छन् । चुनाव जति नजिकिँदै छ, देउवाको बर्बराहट बढ्दै गएको छ । देउवा यति धेरै हतास र उदास अहिलेसम्म कहिल्यै देखिएका थिएनन् ।
राजा ज्ञानेन्द्रले दुई–दुईपटक अक्षम भनेर सत्ताच्युत गरी थुनामा राख्दा समेत देउवाले यो तहको आत्मविश्वास गुमाएका थिएनन् । आखिर देउवा किन गठबन्धनबिना टिक्न नसकिने बताइरहेका छन् त ? यसको उत्तर पर्गेल्नुअघि उनको दल नेपाली कांग्रेसभित्रको शक्ति संघर्षको अवस्था हेरौँ ।
देउवासँग सभापतिमा पराजित शेखर कोइरालासहित उनको खेमा गठबन्धनको विपक्षमा छ । यस खेमाभित्र गगन थापादेखि धनराज गुरुङसम्मै पर्छन् । अहिले कोइराला–थापा समूह जसरी हुन्छ देउवालाई थप कमजोर बनाउन चाहन्छन् । आउँदा चुनावमा टिकट बाँड्दा पनि देउवा समूह नै हावी हुने सामान्य आकलन छ । यसो हुँदा कोइराला समूहले हार्ने सिट मात्र पाउनेछ । जित्ने सिटमा देउवाले कि त आफ्नै गुटका उम्मेदवार उठाउनेछन् नभए माओवादी र एकीकृत समाजवादीलाई दिनेछन् ।
अर्को गठबन्धन र तालमेल गरेका कारण देशभरका धेरै कांग्रेसीले कम्युनिस्टलाई भोट हाल्नुपर्नेछ । धेरैले अहिलेसम्मको त्याग र बलिदानी नै खेर जाने गरी आफ्नो सिट तिनै बदनाम कम्युनिस्टका निम्ति छाडिदिनुपर्नेछ । तिनको असन्तुष्टि कुन हदसम्म छ भन्ने थाहा पाउन जारी केन्द्रीय कार्यसमिति बैठकमा उठेका आवाजलाई हेरे पुग्छ ।
पार्टी मुख्यालय सानेपामा शुक्रबारदेखि जारी बैठकमा बोलेका ७५ सदस्यमध्ये अधिकांशले गठबन्धन पार्टीको हितविपरीत हुने बताएका छन् । जनताबाट र स्वयं पार्टी कार्यकर्ताबाट बहिष्कृत माधव नेपाल र पुष्पकमल दाहाल तथा तिनका प्रियजन–आफन्तको राजनीति जोगाइदिन कांग्रेसले गठबन्धन गर्दै जाने हो भने भारतको कंग्रेसकै जस्तो हालतमा पुग्ने उनीहरुको भनाइ छ । एमाले विभाजित भएको अवस्थामा पनि कांग्रेसले एक्लै चुनाव लड्ने आँट नगर्ने हो भने कहिले गर्ने भनेर सबैले प्रश्न उठाएका छन् ।
कतिपय सदस्यले गठबन्धन गरे पार्टीको वंश नै समाप्त हुनेसम्मको चेतावनी दिएका थिए । यस्तै केही सदस्यले कम्युनिष्ट पार्टी विभाजित अवस्थामा रहेकाले गठबन्धन गर्नु कांग्रेसका लागि निकै हानिकारक हुने बताएका थिए ।
पार्टीले एक्लै प्रतिस्पर्धा गर्दा पनि बहुमत आउने अवस्था रहेकाले गठबन्धन गर्न नहुने अधिकांश सदस्यको भनाइ छ । यी सारा अभिमतको बेवास्ता गरी देउवा गठबन्धन गरेरै छाड्ने अड्डी कसिरहेका छन् ।
आइतबार पार्टी प्रवक्ता प्रकाशशरण महतले बैठकस्थलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग बोल्दै धेरै स्थानीय तहमा जित्नका लागि पार्टी गठबन्धनको पक्षमा रहेको बताए । सोमबार सकिने बैठकबाट यो निर्णय हुने उनको भनाइ थियो ।त्यसो त गठबन्धन गर्नैपर्ने र गर्नुहुँदैन भनेर देउवा र कोइरालाबीच सार्वजनिक मञ्चमै भनाभन भइसकेको छ । बीपी स्मृति सामुदायिक सहकारी अस्पतालले शनिबार आफ्नो १४ औं वार्षिक साधारण सभामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई मुख्य अतिथिका रुपमा बोलाएको थियो । नेता शेखर कोइराला पनि निम्तो मान्न पुगेका थिए ।
कार्यक्रममा कोइरालाले आसन्न निर्वाचनमा गठबन्धनको प्रसंग निकाले । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा अधिकांश प्रदेश सभापतिले गठबन्धन गर्नुको साटो पार्टीले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका थिए ।
कोइरालाले प्रदेश सभापतिका सुझाव अनुसार निर्वाचनमा होमिनुपर्ने मात्र बताएनन्, गठबन्धन गरे पार्टीको अवस्था भारतीय कंग्रेसको जस्तो हुने चेतावनी दिए । गठबन्धनभन्दा पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्नेमा उनको जोड थियो ।
देउवालाई कोइरालाको कुरा चित्त बुझेन । देउवाले माइक पाउनेबित्तिकै कोइरालामाथि खनिन सुरु गरे । उनले तालमेल नगरे माओवादी केन्द्र प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग मिल्न पुग्ने सम्भावना मात्र औंल्याएनन्, ती दुई दल मिल्दाको पाँच वर्षअघिको चुनावी परिणाम पनि सुनाए । एमाले र माओवादी केन्द्रले गठबन्धन गरेका कारण मोरङमा कोइरालाले नै हारेको सन्दर्भ समेत उनले उठाए । देउवाले आफूलाई प्रधानमन्त्री हुन सघाएकाले आफू माओवादीलाई तत्काल गेटआउट भन्ने पक्षमा छैन भने ।
त्यही मञ्चबाट उनले एमालेलाई कम नआँक्न भन्दै निकै डरपोक अभिव्यक्ति पनि दिए । एमाले देशकै सबैभन्दा बलियो पार्टी रहेको र विभाजनपछि झन् बलियो बनेको उनको भनाइ थियो ।
देउवाको यो भनाइ किन पनि गम्भीर र अर्थपूर्ण छ भने उनी देशका प्रधानमन्त्री हुन् । गृहमन्त्री उनकै पार्टीका छन् भने रक्षा मन्त्रालय उनले आफै राखेका छन् । त्यसैले देशभरिका सूचना संयन्त्रबाट प्राप्त विश्लेषण र निष्कर्षका आधारमा देउवाले यो कुरा बताएको हुन सक्ने कांग्रेसभित्रै चर्चा चलेको छ । साथै उनले यो आफ्नो भित्री बुझाइ सार्वजनिक गरेर एमालेको आत्मविश्वास बढाइदिएका छन् भने कांग्रेस नेता–कार्यकर्ताको शिर निहुराउने र मुटुमा ढ्यांग्रो ठोक्ने काम गरेका छन् ।
सार्वजनिक कार्यक्रममा हतपत्त धेरै नबोल्ने देउवाले कोइरालालाई जवाफ फर्काउने क्रममा १५ मिनेटभन्दा बढी समय खर्चिएका थिए । कोइराला मंसिर अन्तिममा भएको पार्टीको महाधिवेशनमा देउवासँग पराजित भएका थिए । पराजित भए पनि उनले करिब ४० प्रतिशत मत ल्याएका थिए । त्यही कारण उनले पार्टीमा भाग खोज्दै पनि आएका छन् ।
देउवाले तरुण दल र नेपाल विद्यार्थी संघको तदर्थ समितिका अध्यक्ष मनोनीत गर्दा पनि कोइरालाले विरोध गरेका थिए । एकलौटीरुपमा मनोनयन गरेको भनेर उनले तरुण र विद्यार्थीहरूको छुट्टै भेलाको तयारी गरेका छन् । तर केन्द्रीय समितिमा सुविधाजनक बहुमत रहेकाले देउवा हच्किएका छैनन् । बरु पेलेरै अघि बढ्ने मानसिकतामा छन् । त्यसैले केन्द्रीय समितिको बैठकमा बोलेका अधिकांशले गठबन्धन गर्न नहुने भने पनि देउवा आफूले चाहेको निर्णय गराउन सकिनेमा विश्वस्त छन् ।
देउवा यसपालि माओवादी र एकीकृत समाजवादीको वैशाखी किन पनि त्याग्न चाहँदैनन् भने यसपालि जसरी पनि आफ्नी पत्नी आरजू राणाले कैलाली–५ बाट जिताउनुपरेको छ । यसअघि पार्टीभित्रैबाट बढेको असन्तोषका कारण राणा हार्नुपरेका कारण यसपालि कांग्रेसको भोट नआए पनि माओवादी र एकीकृत समाजवादीको मतले जितिछाड्ने योजना छ । राणालाई जिताउन देउवा देशका जुनकुनै निर्वाचन क्षेत्र पनि अरुलाई छाडिदिन तयार छन् ।
त्यस्तै रामचन्द्र पौडेल पनि तनहुँमा कांग्रेसको मतले मात्र जित्ने अवस्था छैन । उनलाई हराउन एक्ला गोविन्दराज जोशी काफी छन् । उनले नपुगे अमरराज कैनीलगायत पुराना कांग्रेसीहरु पौडेललाई पराजित गर्न तयार छन् ।
गएको महाधिवेशनमा एकाएक देउवासामु आत्मसमर्पण गरेका कारण रुष्ट कार्यकर्ता पनि पौडेललाई धुलो चटाउने दाउ हेरेर बसेका छन् । यस्तै डरपोक, कमजोर र भुइँ छाडेका नेताहरुको स्वार्थमा देउवाले कांग्रेसको अस्तित्व र विरासतलाई दाउमा लगाएर चुनावमा बिग्रिएका र डुङ्डुङ्ती गन्हाएका कम्युनिस्टहरुसँग अपवित्र गठबन्धन एवं तालमेल गराएरै छाड्ने भएका छन् ।



















