दोलखा,१५ चैत । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा प्रदेशसभा क्षेत्र नम्बर १ का संयोजक निमा लामासहितको टिम नेकपा एमालेमा प्रवेश गरेको छ ।

मंगलबार गौरीशंकर गाउँपालिकामा आयोजित सभामा लामासहित माओवादीका दोलखा जिल्ला सचिवालय सदस्य शंखङिमा शेर्पा (रकेट), अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य मिङ्गुर शेर्पा, गौरीशंकर गाउँपालिका कमिटी उपसचिव अशोक तामाङसहितका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

लामा पाँच वर्षअघिको स्थानीय निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धनबाट गौरीशंकर गाउँपालिका अध्यक्षको उम्मेदवार भइ ३४ मत ल्याएका थिए । एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङ, केन्द्रीय सदस्य सरस्वती बस्नेत, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठलगायतले उनीहरूलाई एमालेमा स्वागत गरेका थिए ।

लामाले माओवादीमा विधि पद्दति सकिँदै गएको र कांग्रेसको भर परेर चुनाव लड्नुपर्ने अवस्था रहेको भन्दै आफू बिनाशर्त एमालेमा समाहित भएको बताए । उनले अघिल्लो निर्वाचनमा आफ्नो भान्जा एमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्या गरेर माओवादी पार्टीबाटै आफूलाई हराउने षड्यन्त्र रचिएको आरोपसमेत लगाए ।