काठमाडौं, १७ चैत ।   नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले एमाले विरूद्ध गठबन्धन बनाएर नेपाली कांग्रेसले आफ्नो खुट्टामा आफै बन्चरो हानेको बताएका छन् । दर्पण दैनिकसँग कुरा गर्दै नेता रिजालले एमालेलाई पराजित गर्ने सपना नदेख्न चुनौती दिए । उनले भने, ‘एमालेको अगाडि ५ दलीय गठबन्धन भनेको हात्तिको अगाडि मुसा जस्तै हो ।’

एमालेलाई चक्रव्यूहमा फसाएर समाप्त गर्न कल्पना नगर्न कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, जनमोर्चानाम गरेका दलहरू लाई नेता रिजालले चूनौती दिए । जनताले यस्तो अपवित्र गठबन्धनको चक्रव्यूह तोडेर एमालेलाई विजय गराउने उनले दावी गरे ।

उनले भने, ‘एमालेका कमाण्डर कमरेड केपी शर्मा ओलीको भिजन र राष्ट्रप्रतिको लगावका कारण जनताले यो निर्वाचनमा एमालेलाई स्थानीय तहमा मात्र होइन प्रदेश र संघमा समेत बहुमतका साथ जिताउने छन् ।’ ५ दलीय गठबन्धनले एमाले र ओलीलाई नै फाइदा हुने उनले बताए ।