काठमाडौं,१७ चैत । नेकपा एमालेले उच्च आय भएका पाँच हजार नेताहरुबाट मासिक पाँच हजार लेबी उठाउने भएको छ । केन्द्रीय कमिटी बैठकले गरेको निर्णय समावेश गरेर अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको सर्कुलरमा यस्तो निर्णय भएको उल्लेख छ ।

पार्टीको दिगो आर्थिक स्रोतका लागि केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थान विभागको प्रस्तावमा ‘५ हजार लेबी दिने ५ हजार अभियान’ चलाउने निर्णय भएको बताइएको छ । योगदान गर्न इच्छुकको नामावली संकलन चैत महिनाको अन्त्यसम्म केन्द्रीय कार्यालयमा उपलब्ध गराउन पनि भनिएको छ ।

‘बैंकका खाताहरूको खोजी गर्ने, मौज्दात रकम रुजु गर्ने र संविधान र कानूनको अधीनमा रही पार्टीको कोष व्यवस्थापन गर्ने काममा केन्द्रीय वित्त तथा कोष व्यवस्थापन विभाग क्रियाशील छ,’ निर्देशनमा भनिएको छ ।

जसअनुसार पार्टीको दिगो आर्थिक स्रोतका लागि विभागका प्रमुखले ५ हजार लेवि दिने ५ हजार जना अभियान (फाइभ थाउजेन्ड बाइ फाइभ थाउजेन्ड अभियान) प्रस्ताव गरेका थिए । एमालेका उच्च आय भएका ५ हजार सदस्यले यस कार्यकालभरि नै अनलाइनमार्फत हरेक महिना ५ हजारका दरले योगदान गर्ने प्रस्ताव बैठकले पारित गरेको अपानिमा उल्लेख छ ।